काठमाडौँ बालाजुमा सडकमा हिँडिरहेकी महिला लुटिइन्, दुई जना पक्राउ

Posted on: 07 Aug, 2022

साउन २२, काठमाडौँ | बालाजुस्थित कुमारी स्थान सडकमा पैदल हिँडिरहेकी एक महिलाको झोला लुटपाटको आरोपमा दुई जना पक्राउ परेका छन् । सडकमा पैदल हिँडिरहेकी गायत्री ढकाललाई मोटरसाइकलमा सवार व्यक्तिले धक्का दिइ उनले बोकेको झोला लुटेर फरार भएका थिए । 


उनको झोलामा रहेको नगद, मोबाइल तथा महत्वपूर्ण कागजात लुटिएको घटनाको अनुसन्धानका क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले दुई जनालाई पक्राउ गरेको हो ।

घटनामा संलग्न रहेको आरोपमा राजधानीको मनमैजु र बानियाटारबाट रामेछाप घर भई टोखा बस्ने सागर दर्जी र तारकेश्वर नगरपालिकाका अमिर महर्जनलाई पक्राउ गरेको कार्यालयले आइतबार जनकारी दिएको छ ।  उनीहरुको साथबाट खुकुरी र लागुऔषध समेत फेला परेको छ । प्रहरीले उनीहरुमाथि कारबाही प्रक्रिया अघि बढाइएको जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!