एक घण्टापछि सर्‍यो नेपाल र क्यानडाबीचको खेल

Posted on: 16 Sep, 2024

भदौ ३१, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ को त्रिदेशीय शृंखलाअन्तर्गत नेपाल र क्यानडाबीचको खेल निर्धारित समयभन्दा एक घण्टापछि सरेको छ । 

नेपाल क्रिकेट संघ (क्यान)ले सामाजिक सञ्जालमार्फत नेपाल र क्यानडाबीचको खेल एक घण्टापछि सरेको जनाएको हो । यसअघि यी दुई टिमबीचको खेल नेपाली समयअनुसार बेलुका ७ः४५ बजेदेखि सुरु हुने तालिका थियो । तर, नयाँ समयअनुसार नेपाल र क्यानडा राति ८ः४५ बजेदेखि मैदान उत्रिनेछन् । 

लिग–२ अन्तर्गत यसअघि घरेलु भूमिमा भएको त्रिदेशीय शृंखलामा खराब लयबाट गुज्रिएको नेपाल तालिकाको सातौँ स्थानमा छ । यसअघि नेपालले घरेलु मैदानमै खेलेका चार खेलमध्ये तीन खेलमा हार व्यहोर्दा एक खेलमा मात्र जित निकालेको थियो ।


आठ टिममध्ये सातौँ स्थानको नेपालको खातामा दुई अंकमात्र छ । आजको खेलमा जित निकाले नेपाल तालिकाको छैटौँ स्थानमा उक्लिनेछ । 

यता, तालिकाको शीर्ष तीनभित्र रहेको क्यानडाले भने लिग–२ मा मिश्रित नतिजा निकालेको छ । आठ खेलमध्ये चारमा जित र चार खेलमा हार व्यहोरको क्यानडा आठ अंकसहित तालिकाको तेस्रो स्थानमा छ । क्यानडामा हुने शृंखलामा नेपाल, क्यानडा र ओमान सहभागी छन् । नेपालले आजको खेलपछि बुधबार ओमानसँग खेल्नेछ । यस्तै, नेपाले आइतबार पुनः क्यानडासँग र मंगलबार ओमानसँग खेल्ने तालिका छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!