

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै ढकालले महाअभियोग प्रस्ताव प्रमुख दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी ओलीवीच छलफल भएर नै आएको समेत दाबी गरे ।
उनले अघि थपे,‘यो प्रस्ताव आउनुभन्दा अघि तीन दलका नेताहरुवीच पर्याप्त छलफल भएको थियो, काँग्रेसको केन्द्रिय समितिको बैठक बस्ने भएकोले संस्थागत निर्णय गर्ने बाध्यताले होला भन्ने हामीलाई लागेको छ ।’
उनले सत्तासँग जोडेर यो प्रस्ताव नआएको समेत दाबी गरे । ढकालले थपे,‘यो प्रस्ताव विशुद्ध अख्तियार प्रमुखको गलत र ज्यादतीको विरुद्धमा आएको हो, यसलाई गलत रुपमा बुझ्नुहुँदैन ।’ उनले प्रस्ताव पवित्र उद्देश्यले ल्याईएको समेत दाबी गरे ।
प्रस्तावलाई निर्णायक बनाउनको लागि काँग्रेस लगायतका सबै दलहरुसँग सहमति हुनेमा आफू पूर्ण विश्वस्त रहेको उनको भनाई थियो । ढकालले थपे,‘निर्णायक स्थितिमा यो प्रस्ताव पुग्छ, काँग्रेस पनि यो प्रक्रियाबाट विमुख हुन सक्दैन् ।’


