एजेन्सी | अमेरिकाको टेनिसी राज्यमा शक्तिशाली हावाहुरीले उडाएका चार महिनाका एक शिशु जीवितै फेला परेका छन्। आफ्ना मातापितासहित उनीहरू बसेको घुम्ती घर (मोबाइल होम) लाई शनिबार आएको शक्तिशाली आँधी (टोर्नाडो) ले ध्वस्त पारेर उडाएको थियो। आफ्ना बालकलाई जीवितै फेला पार्ने आशा मारेका अभिभावकले उनलाई जीवितै फेला परेपछि ‘ईश्वरको कृपाले’ त्यो सम्भव भएको बताएका छन्।

टोर्नाडोले शिशु रहेको कोक्रो उडाएको थियो। खोजी गर्ने क्रममा लडिरहेको रूखमाथि शिशु जीवितै फेला परेका थिए। ती बच्चालाई उक्त रूखमा कुनै देवदूतले सुरक्षित राखिदिएको जस्तो देखिन्थ्यो। उद्धारका क्रममा पानी परिरहेको थियो। ती शिशुका एक वर्षका दाजु र परिवारका अन्य सदस्यलाई सामान्य चोटपटक लागेको छ। लर्ड नाम गरेका ती शिशुकी २२ वर्षीया आमा सिड्नी मुरका अनुसार आँधीले सबैभन्दा पहिले उक्त घुम्ती घरको छाना उडाएको थियो।

उनले टोर्नाडोले शिशुसहितको कोक्रो उडाएको बताइन्। तत्काल उनका प्रेमी तथा शिशुका पिताले जोगाउन चाहे पनि उनीहरू आफैं टोर्नाडोमा फसे।

‘पिताले शिशुसहितको कोक्रो च्यापेका थिए तर शक्तिशाली आँधीले उनीहरूलाई फनफनी घुमाउन थाल्यो र उछिट्टिए,’ आमा मुरले एक स्थानीय टेलिभिजनलाई भनिन्, ‘उनले पूरै समय कोक्रोलाई च्यापिरहेका थिए र फनफनी घुम्न थालेपछि उनीहरू उछिट्टिए।’

त्यो घटना भइरहेका बेला उनले प्रिन्सटन नाम गरेका अर्का एक वर्षीय छोरालाई समाइरहेकी थिइन्।

टोर्नाडोले कार र घर पूर्ण रूपमा नष्ट गरिदिएपछि मुरकी बहिनी क्याटलिनले ‘गोफन्डमी’ नामक एउटा सहयोग अभियान सुरु गरेकी छन्। गोफन्डमीमा राखिएको विवरणअनुसार लर्ड नाम गरेका ती शिशुलाई रूखमा बिस्तारै कसैले अड्याए जस्तो देखिन्थ्यो।

‘यस्तो लाग्थ्यो कुनै परीले त्यो ठाउँमा उनलाई पुर्याएकी थिइन्,’ उक्त विवरणमा उल्लेख छ। टोर्नाडो रोकिएपछि भग्नावशेषबाहिर निस्कन सफल अभिभावकले शिशु लर्डको खोजी गर्न थालेका थिए।