काम लगाइदिन्छु भन्दै कलकत्ता पुर्‍याई मिर्गौला बेचबिखन

Posted on: 03 Jan, 2024

पुस १८, काठमाडौँ | भारतको कलकत्तामा लगी मानव अंग मिर्गौला बेचबिखन गर्ने गिरोहका फरार अभियुक्तलाई मानव बेचबिखन अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ। पक्राउ पर्नेमा नुवाकोटको बेलकोटगढी नगरपालिका–१३ स्थायी घर भएका ४३ वर्षीय हरि नेपाल भन्ने हरि दर्जी रहेका छन्। 

दर्जीले नाम परिवर्तित बबरमहल (१०५) लाई भारतको कलकत्तामा म:म पसलमा काममा लगाइ मासिक भारु ३० हजार तलब दिने भन्ने प्रलोभन देखाएर नुवाकोटबाट काँकडभित्र्टा हुँदै कलकत्ता पुर्‍याएका थिए। त्यहाँ पुर्‍याइसकेपछि झुक्याएर बेहोस पारी मानव अंग मिर्गौला निकालेर अर्कै व्यक्तिलाई प्रत्यारोपणसमेत गरिएको उजुरी मानव बेचबिखन ब्यूरोमा परेको थिए। त्यसपछि फरार रहेका दर्जीलाई ब्यूरोको टोलीले १६ गते काठमाडौंबाट पक्राउ गरेको हो।


पक्राउ परेका दर्जीलाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ।

अनुसन्धानका क्रममा गाउँमा बिहे ब्रतबन्धमा बाजा बजाउने काम गर्ने गरेकोमा २०७८ साल बैशाखमा अभियुक्तहरुले पीडितलाई बाजा बोलाउने बहानामा नुवाकोट बोलाएको खुलेको छ। भेटघाटका क्रममा मुरली दमाईसमेतले एक जना मानिसलाई मिर्गौला चाहिएको र राम्रो पैसा दिने अनि आफूसमेतले मिर्गौला बिक्री गरेको भन्दै पुरानो खत देखाएर प्रलोभनमा पार्न खोजेका थिए। तर पीडितले आफ्नो मिर्गौला बेच्न अस्वीकार गरे। 

त्यसपछि भने उनीहरु भारु ३० हजार मासिक तलब हुने म:म पसलमा काम लगाइदिने प्रलोभन दिएर काकरभिट्टा हुँदै कलकत्ता पुर्‍याएको प्रहरीले जनाएको छ। अनुसन्धानका क्रममा उनीहरुले पीडितलाई कलकत्ता पुर्‍याएपछि मिर्गौला प्रत्यारोपण गर्नुपर्ने व्यक्तिलाई हरि नेपालीले होटलको साहु हो भनेर चिनजान गराएको र त्यसपछि उनले झुक्याएर पीडितलाई अस्पताल पुर्‍याएको खुल्न आएको छ। 

अस्पतालमा बेहोस पारेर अर्कै व्यक्तिलाई मिर्गौला प्रत्यारोपण गरी पिडीतलाई ६ लाख दिएपछि मात्र पीडितले आफ्नो मिर्गौला बेचिएको थाहा पाए। पीडितले बाँदरे भन्ने मुरली दमाई, राजु नेपाली, राजेश परियार, सानु भन्ने सुवास नेपालीविरुद्ध मानव बेचबिखन अनुसन्धान ब्यूरोमा जाहेरी दिएका थिए।

अनुसन्धानपछि जिल्ला अदालतबाट २०७९ भदौ १७ गतेको थुनछेक आदेशले उनलाई पक्राउ गरिएको हो। हाल पक्राउ परेका हरि दर्जी २०६५ सालमा समेत मानव बेचबिखन मुद्दामा १० वर्ष सजाय भुक्तान गरी छुटेको समेत खुलेको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!