जेठ २२, रौतहट | भारतीय सिमानासँग जोडिएको रौतहट जिल्लाको राजपुर नगरपालिकामा एक जना भारतीय नागरिकको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला परेको छ।

राजपुर-१ पिपरा भगवानपुरको पूर्वपट्टी इद्रिस गेटछेउ हुलाकी सडक खण्डमा ४५ वर्षीय भारतीय नागरिकको हत्या गरिएको अवस्थामा शव फेला परेको हो। घटना प्रकृतिअनुसार धारिलो हतियारले घाँटी रेटेर हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुमान रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताएकी छिन्।

मृतकको गोजीबाट प्राप्त कागज पत्रमा भारत बिहार मोतीहारीको ठेगाना बताइएको छ। तर, मृतकको स्पष्ट सनाखत नहुन्जेलसम्मको लागि नाम सार्वजनिक नगरिएको तथा शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा पठाइएको प्रवक्ता गिरीले बताएकी छिन्।

मृतकको शवको केही पर सिजे०१- २५६८ नम्बरको मोटरसाइकल बरामद भएको छ। उक्त भारतीय नागरिकको सोही ठाउँमा हत्या गरिएको छ वा अन्य ठाउँबाट हत्या गरेर त्यहाँ फालिएको हो खुल्न सकेको छैन।

हत्या कसले र किन गरेको हो त्यस सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

मृतकको शव र मोटरसाइकल बेवारिसे अवस्थामा देखेर स्थानीयले प्रहरीलाई खबर गरेका थिए।