मीना घोरसाइने/चैत १६, काठमाडौँ | भूकम्पबाट पुग्न गएको क्षतिको सम्झना गर्दै विद्यालय पढ्ने बालबालिकाले चित्रमा उतारेका छन् । चित्रमा भूकम्पका समयमा भएका विविध घटनालाई सम्झना गर्दै बालबालिकाले चित्रमार्फत प्रस्तुत गरेका हुन् ।
“भूकम्पमा बालबालिकालाई बढी क्षति भएको ठानेर नै आफूले भोगेका कुरालाई चित्रमा उतारेकी हुँ ।” धादिङकी कक्षा– ९ मा अध्ययनरत विमला तामाङले भन्नुभयो, “चित्र बनाइसकेपछि मनमा भएको डर केही हदसम्म हराएको थियो ।” भूकम्पपछि मानिसमा मेलमिलापको भावना पाएको र त्यसलाई आफूले चित्रमा उतारेको उहाँले बताउनुभयो ।
चित्रकलामा सहभागी अर्की रामेछापकी छात्रा रञ्जु तामाङले आफूले भोगेको कुरालाई चित्रमा उतार्न सजिलो भएको बताउनुभयो ।
चित्र–संग्रहमा विद्यालय विद्यार्थीले भूकम्पमा भएका क्षति, विभिन्न दातृ निकायले गरेको सहयोगको प्रतिविम्ब, भूकम्पपीडितले टहरामा जीवन बिताउदाको दुःखकष्टलगायत पुनःनिर्माणका गतिविधिलगायत सुन्दर नेपालको परिकल्पना चित्रमार्फत व्यक्त गरेका छन् ।
“इन्डुरेड इन्टरनेसनल” नामक संस्थाको सहयोगमा भूकम्प प्रभावित १२ वटा जिल्लाका बालबालिकालाई चित्रकलामा सहभागी गराइएको थियो । बालबालिकालाई भूकम्पसम्बन्धी गतिविधिमा सहभागी गराउनुपर्छ भन्ने उद्देश्यका साथ चित्रकला प्रतियोगितामा सहभागी गराइएको इन्टरनेशनलका प्रमुख डा गोपालकृष्ण सिवाकोटीले बताउनुभयो ।
“भूकम्पका बेला बालबालिकामा ठूलो त्रास बनाएको थियो । त्यसले उनीहरुमा बनाएको प्रतिविम्बलाई उतार्न सक्छन् भनेर नै सहभागी गराएका हौं ।” सिवाकोटीले बताउनुभयो ।
काठमाडौँमा चित्र–संग्रह लोकापर्ण कार्यक्रमको आयोजना गरी इन्टरनेशनलले पुस्तकका रुपमा विमोचन गरेको थियो । आज आयोजित कार्यक्रममा प्रतिनिधिसभाकी उपसभामुख डा शिवमाया तुम्बाहाम्फेले चित्रमा विद्यार्थीले बनाएको चित्रको खुलेर प्रशंसा गर्नुभयो ।
“बालबालिकाले आफ्नो भनाइ राख्न नसके पनि चित्रले दिएको सन्देशअनुरुप देशको निर्माण गर्न सके देश साँच्चै सुन्दर बन्ने थियो” उहाँले भन्नुभयो । चित्रले अहिलेसम्मकै नयाँ सन्देश दिन खोजेको उहाँले बताउनुभयो ।
आर्थिक वर्ष २०७४÷७५ भित्रै धराहराको शिलान्यास गर्ने लक्ष्य राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले राखेको छ । धरहरालाई कंक्रिड र रडको प्रयोग गरी बनाउने लक्ष्य राखेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी प्रमुख युवराज भुषालले बताउनुभयो ।
“धरहराभित्रै पार्किङ गर्ने गरी निर्माण गरिने लक्ष्य रहेको छ र सोहीअनुरुप काम गर्ने तयारी पूरा भइसक्यो ।” भुषालले भन्नुभयो । स्थायी सरकार निर्माण भएमा दुई वर्षभित्रै पुनःनिर्माणको काम पूरा भइसक्ने उहाँले बताउनुभयो ।
रानीपोखरीको विवाद पनि अहिले सुल्झिसकेको अवस्था छ । काठमाडौँं महानगरपालिकाले नयाँ आर्थिक वर्षबाट रानीपोखरीको पुनःनिर्माणको काम शुरु गर्ने जानकारी भुषालले दिनुभयो ।
पुनःनिर्माण प्राधिकरणले अपांग, सहाराबिहीन ७० वर्ष नाघेका वद्धवृद्धा, १५ वर्ष मुनिका सहाराविहीन बालबालिका र ६० वर्ष माथिका एकल महिलाको लागि आवासको निर्माण गरिदिन तथ्यांक निकालिसकेको जानकारी दिनुभयो । त्यस्ता वर्गमा जम्मा २४ हजार मानिसको तथ्यांक निस्किएको उहाँले जानकारी दिनुभयो । जसमा पाँच हजारले आफन्तको सहयोगमा आवासको निर्माण गरिसकेको र अन्यलाई आवास बनाइदिन गैरसरकारी संस्थासँग पहल गरिरहेको उहाँले जानकारी दिनुभयो ।
हाल जम्मा ७५३ ऐतिहासिक तथा सांस्कृतिक धरोहरमध्ये एक सयको पुनःनिर्माणको काम पूरा भइसकेको जानकारी उहाँले दिनुभयो । रासस