असार ३, धनुषा | श्रीमान्ले करेन्ट लगाएर घाइते भएकी २२ वर्षीया राधिका कार्की धनुषाको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचार गराइरहेकी छन्। करेन्ट लगाएर घाइते बनाएपछि उनका श्रीमान् अरुण साह भागेका छन्।

आफन्त नभएकाले उनलाई अहिले अस्पतालका नर्स र सुरक्षाकर्मीहरूले खाना तथा औषधि खुवाउँदै आएका छन्। उपचारमा संलग्न डा. यादवका अनुसार‚ राधिकाको दुवै हात, दुवै गोडा र पेटमा करेन्टले जलेको छ। शरीरका केही भाग पनि जलेका छन्।

गत जेठ १६ गते अरुणले आफूलाई करेन्ट लगाएर घाइते बनाएको राधिका बताउँछिन्। करेन्टबाट घाइते राधिकालाई देखेपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए। उनलाई प्रहरीले उद्धार गरी अस्पताल लगेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीप क्षेत्रीले बताए।

आठ महीनाअघि प्रेमविवाह गरेकी युवतीले घर लैजान अनुराेध गर्दा उनका श्रीमान् करेन्ट लगाएर भागेका छन्। घाइते युवती धनुषाको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा छटपटाइरहेकी छन्।

घटना भएको दिनदेखि नै अरुण फरार रहेकाले जाहेरी दर्ता गरेर अनुसन्धान अगाडि बढाउने प्रवक्ता क्षेत्रीको भनाइ छ। राधिका १६ दिनदेखि प्रादेशिक अस्पतालमा उपचाररत छिन्।

सिन्धुलीको गोलञ्जर गाउँपालिका-२ की राधिकाले करीब आठ महीनाअघि धनुषाको सखुवा महेन्द्रनगर घर भई जनकपुरधामको थापाचोकमा बस्दै आएका अरुणसँग प्रेमविवाह गरेकी थिइन्। उनीहरूको एक वर्षअघि चिनजान भएको थियो।

विवाहपछि उनीहरू थापाचोकमा बस्दै आएका थिए। श्रीमान्लाई आफ्नो घर लान अनुरोध गर्दा करेन्ट लगाएर यातना दिएको राधिकाको भनाइ छ।

राधिकाले भनिन्‚ सिन्धुली जिल्लाको गोलान्चोर गाउँपालिका–२ का अम्बर कार्कीकी छोरी राधिकाको चिनजान करिब १८ महिना अगाडि धनुषा जिल्लाको महेन्द्रनगर निवासी अरुण साहसँग भएको थियो। ‘हामीले पहिलोपटक खुर्कोट बजारमा भेटेका थियौं,’ अस्पतालको शय्यामा निकै मधुरो स्वरले अन्नपूर्णकर्मीलाई राधिकाले आफ्नो कथाव्यथा सुनाइन्, ‘करिब एक वर्ष हामी दुईजना एकअर्काको सम्पर्कमै बस्यौं पछि घरबाट भागेर विवाह गर्ने योजना बनायौं र आठ महिना अगाडि जनकपुर भागेर आएँ।’

साहले राधिकालाई जनकपुर ल्याएर स्थानीय थापाचोकमा डेरा गरेर राखेको पीडितले सुनाइन्। ‘यहीँ डेरामा राखेको थियो। पहिले खान बस्न पैसा दिन्थ्यो पछि पैसा कम पर्न थालेर मलाई पनि यहीँको जानकी मेडिकल र सिटीपार्क होटलको क्यान्टिनमा काम लगाइदियो। महिनाको १० हजारजति मैले पनि कमाउँथे। घरको भाडा ३ हजार रुपैयाँ पनि मैले नै तिर्दै आएको थिएँ। बढिजसो मैसँग बस्थ्यो तर, पछि दुई/तीन दिनसम्म पनि कोठा नआउने गर्न थाल्यो। मैले पनि विवाह गर्नुपर्यो आफ्नो घर लग, कति दिन यसरी कोठामा राख्छौं भनेर जिद्दि गर्न थालेपछि झगडा हुन्थ्यो।’ राधिकाले मधुरो स्वरमा सुनाइन्, ‘घटना भएको दिन उ साँझ साढे सात बजेतिर कोठा आयो। कुराकानीकै क्रममा मैले फेरि घर लाने कुरा उठाए हुँदाहुँदै उ निकै रिसायो र बिजुलीको तार चुँडाएर मेरो खुट्टामा डाम्यो। निकै पीडा भएर म बेहोस जस्तै भएँ चिच्याउन पनि सकिन अनि पछि पूरै जिऊमा करेन्टले पोलिदियो।’ घटनापछि साह भने फरार भएका थिए।