बहराइनको अधिराजकुमार खलिफासँग नेपाली राजदूतको भेटवार्ता

Posted on: 17 Apr, 2018

बैशाख ४, काठमाडौँ (रासस) | बहराइनका लागि नेपाली राजदूत पदम सुन्दास र बहराइनका अधिराजकुमार सलमान बिन हमाद अल खलिफाबीच शिष्टाचार भेटवार्ता भएको छ । 

आइतबार मनामास्थित गुडैबिया दरबारमा भएको भेटका क्रममा अधिराजकुमार खलिफाले राजदूत सुन्दासलाई स्वागत गर्दै आफ्नो कूटनीतिक भूमिकामा सफलताको कामना गर्नुभयो । सोही अवसरमा राजकुमार खलिफाले नेपालको अर्थतन्त्र र राजनीतिक अवस्थाबारे चासो देखाउनुभएको दूतावासले जनाएको छ । 

भेटका क्रममा विद्यमान दुई पक्षीय सम्बन्धलाई थप सुदृढीकरण गर्ने, बहराइन र नेपालबीच भएको आर्थिक तथा वाणिज्य सम्बन्धलाई दुईपक्षीय हितमा अघि बढाउने, बहराइन र नेपालका निजी क्षेत्रबीचको सम्बन्धलाई सुधार गर्नेलगायतका विषयमा छलफल भएको थियो । 

सो अवसरमा राजदूत सुन्दासले नेपाली कामदारका लागि बहराइन सरकारले गरेको सहयोग र सद्भावप्रति आभार व्यक्त गर्नुभयो । भेटका क्रममा राजदूत सुन्दासले नेपालको पछिल्लो राजनीतिक विकास क्रममाथि प्रकाश पार्दै लगानी, व्यापार, पर्यटन र नेपाली श्रमिकको संरक्षणमा दुई देशबीच सहकार्य गर्ने बताउनुभयो । 

भेटका क्रममा दूतावासका नियोग उपप्रमुख खगराज पाण्डेय र तृतीय सचिव अमृत लोप्चनको समेत सहभागिता थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!