अन्नपूर्ण पदमार्ग घुम्न गएका काङ्ग्रेस नेताको लेक लागेर मृत्यु

Posted on: 24 Oct, 2018

कात्तिक ७, बेँसीशहर | चक्रीय अन्नपूर्ण पदमार्ग घुम्न जानुभएका पोखरा–३३ का नेपाली काङ्ग्रेसका नेताको आज मृत्यु भएको छ । 

मनाङको तिलिचो ताल घुम्न जानुभएका करीब ३५ वर्षीय सरोज अधिकारीको लेक लागेर मृत्यु भएको हो । अधिकारी पोखरा–३३ मा काङ्ग्रेसका सहसंयोजक तथा साविक लेखनाथ नगरपालिका–१७ का सभापति हुनुहुन्छ । 


तिलिचो तालमा पुगेर फर्कने क्रममा श्रीखर्कमा पुगेपछि अधिकारीलाई लेक लागेको साथीलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय मनाङका प्रहरी नायब उपरीक्षक खड्कबहादुर खत्रीले जानकारी दिनुभयो । पोखराबाट यही कात्तिक ४ गते बिहान सात साथीका साथमा अधिकारी मनाङको यात्रामा निस्कनुभएको थियो । 

तिलिचोमा लेक लागेपछि अधिकारीलाई उद्धार गरी उपचारका लागि आज बिहान हेलिकोप्टरबाट मणिपाल शिक्षण अस्पताल लगिएको थियो । उपचारकै क्रममा अधिकारीको निधन भएको प्रहरीले जनाएको छ । गण्डकी अस्पताल पोखरामा परीक्षणका लागि अधिकारीको शव लगिएको बताइएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!