रुस–युक्रेन युद्धमा परी लमजुङका साजन गुरूङको मृत्यु

Posted on: 16 Jan, 2024

माघ २, काठमाडौं | रुस–युक्रेन युद्धमा परी अर्का एक नेपाली युवकको मृत्यु भएको छ । लमजुङ जिल्लाको दूधपोखरी गाउँपालिका–१ घामर चोकका ३२ वर्षीय साजन गुरुङको रुस–युक्रेन युद्धमा निधन भएको हो । गुरूङ लमजुङको दुधपोखरी गाउँपालिका वाईसीएलका अध्यक्ष समेत रहेका थिए ।

रोजगारीका लागि रुसी सेनामा पुगेका गुरुङको मृत्यु भएको खबर पाँच दिन अघिमात्र परिवारलाई प्राप्त भएको वडाध्यक्ष दुर्गामान गुरुङले बताए । 

उनका अनुसार मृतक गुरुङसँगै रुसी सेनामा पुगेका साथीहरुले उनका भाइ कुमार गुरुङलाई उक्त खबर पठाएका थिए । जर्मनीमा रहेका भाइ कुमारले दाइको मृत्युको खबर घर पठाएपछि परिवारले पुस २९ गते क्रियाकर्म समेत गरिसकेको उनले बताए ।

रोजगारीका लागि भन्दै साढे तीन महिना अघि उनी रुसी सेनामा पुगेका थिए । उनको घरमा बुबा, आमा, श्रीमती र एक छोरा छन् । हालसम्म साजनसमेत गरी रुस–युक्रेन युद्धमा ज्यान गुमाउने नेपालीको सख्या १२ पुगेको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!