जनयुद्धको राजधानी थवाङमा २६ वर्षपछि पस्यो कांग्रेस

Posted on: 26 Mar, 2017


चैत १३, काठमाडौं । माओवादी दस वर्षे जनयुद्धको उद्गम थलो रोल्पाको थवाङ नेपाली कांग्रेसका लागि २६ वर्षसम्म विरानो बन्यो । 

संसदीय पद्धति अंगालेका पार्टीलाई बहिष्कार गर्ने थवाङीको कडा नीतिलाई कांग्रेसले नाघ्न सकेन । फलस्वरुप थवाङमा कांग्रेसले पार्टीगत गतिविधि गर्नै पाएन । तर, अहिले परिस्थिति फेरिएको छ । २६ वर्षसम्म थवाङ पस्न नसकेको कांग्रेस चैत ५ गते त्यहाँ पुगेको छ ।

कांग्रेस नेतालाई थवाङीले फूलमाला, बाजागाजासहित भव्य स्वागत गरे । रोल्पा कांग्रेसले जिल्ला कार्यसमितिको बैठक थवाङमा राखेको थियो ।

‘हामी २६ वर्षपछि थवाङ पुग्यौं, ’ पार्टी जिल्ला समितिको बैठकका लािग थवाङ पुगेकी कांग्रेस नेतृ श्रीकुमारी रोका भन्छिन, ‘त्यहाँ फूलमाला, बाजागाजासहित भव्य स्वागत पाउँदा खुशीले मन भरियो ।’ कांग्रेस नेताले थवाङीसँग साक्षात्कार गरे । 

‘त्यहाँका नागरिकसँग भलाकुसारी गर्ने अवसर मिल्यो,’ उनले भनिन्, ‘सबैले विकास निर्माणमा चासो दिनुभयो ।’२०४६ सालको राजनीतिक परिवर्तनपछि थवाङ कांग्रेसलगायत दलका गतिविधिलाई ‘निषेध’ गरिएको थियो । लामो समयसम्म थवाङमा प्रवेश नपाएको अर्को दल एमालेले पनि त्यहाँ गाउँ कमिटी नै निर्माण गरेको छ ।

तत्कालीन एकीकृत नेकपा माओवादी (हाल माओवादी केन्द्र) प्रतिको असन्तुष्टिले पछिल्लो संविधानसभा निर्वाचनमा शून्य मतदानको अवस्थामा पुगेको थवाङमा अहिले माओवादी केन्द्रप्रतिको वैमनश्यता पनि हटिसकेको छ । -नागरिक दैनिक 

यस बिषयमा तपाइको प्रतिक्रिया...!