फागुन १३, काठमाडौँ | आज महाशिवरात्री पर्व, देशभर श्रद्धाभक्तिपूर्वक महादेवको पूजा–आराधना गर्दै धुमधामसँग मनाईंदैछ । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यो पर्वलाई सम्पूर्ण दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अतिप्यारो दिनका रूपमा पनि लिइन्छ ।

यसै अवसरमा काठमाडौँको पशुपतिनाथ मन्दिरमा दर्शनार्थीहरुको भीड लागेको छ । उपत्यका सहित देशभरी र भारतदेखि आएका दर्शनार्थीहरुको कारण काठमाडौँको चाबहिलदेखि गौशाला-एयरपोर्टसम्मको रोडमा सवारी आवागमन ठप्प छ भने मानिसनै मानिसले सडक भरिएका छन् ।
बिशेष गरि आजको शिवधुनीपछि जाडो जान्छ भन्ने मान्यता रहेको कारण पशुपतिमा शिवधुनी ताप्ने, भाङ/गाजा खाने गरिन्छ । आज पशुपति दर्शन गर्न आएका भारतीय भक्तजनले जाडो लिएर जान्छन् भन्ने विश्वाससमेत छ ।

राष्ट्रिय सांस्कृतिक पर्वका रूपमा रहेको यो दिन आज पशुपतिनाथमा रातको चार प्रहरमा चार प्रकारका पूजाका अतिरिक्त महादीप, अखण्डदीप, लक्ष्यबत्ती तथा दीपोत्सवका साथै लक्ष्य विल्लपत्र अर्पण गरिन्छ भने कैलाशकूट र किरातेश्वर संगीत आश्रममा शास्त्रीय नाचगान गरिन्छ ।
शंकरको दर्शन गर्न र शिवरात्रि पर्वको मेला भर्न आज देशका विभिन्न भागलगायत भारतका तीर्थयात्रीको पशुपतिनाथ मन्दिरमा घुइँचो लागेको छ । यसैबीच पशुपति क्षेत्रमा मेला भर्न आउने भक्तजनको सुविधाका लागि विशेष प्रबन्ध मिलाइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । पहिलेजस्तो पैसा तिरेर छिट्टै दर्शन गर्न पाइने ब्यबस्था हटाइएको छ भने सबै दर्शनार्थीहरुले ४५ मिनेट भित्रै पशुपति दर्शन गर्ने वातावरण मिलाइएको छ ।

पशुपति क्षेत्रमा सुरक्षाका लागि नेपाल प्रहरीका चार हजार, सशस्त्र प्रहरी बलका दुई हजार पाँच हजार र राष्ट्रिय अनुसन्धान विभागका चार सय सुरक्षाकर्मी परिचालन गरिएको छ ।



