फागुन ९, काठमाडौं । गुन्डा नाइके मनोज प्रहरी इन्काउन्टरमा मारिएका छन् ।
बुधबार बिहान रुपन्देहीको देवदहमा प्रहरीको गोलीबाट उनी मारिएका हुन् । पक्राउ गर्न गएको प्रहरी टोलीमाथि आक्रमण गरेर भाग्ने क्रममा प्रहरीको जवाफी कारबाहीमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

रुपन्देहीका एसपी श्याम ज्ञवालीका अनुसार रुपन्देहीको देवहद नगरपालिका ४ भवानीपुरमा प्रहरीसँग जम्काभेट हुँदा आक्रमण गरी भाग्न खोज्ने क्रममा उनी मारिएका हुन् । उनीसँगै उनका सुटर सोमबहादुर आलेको पनि मृत्यु भएको छ ।
घटनास्थलमा गोली लागेर घाइते भएका दुबै जनालाई तत्काल उपचारको लागि लुम्विनी अञ्चल अस्पताल बुटवलमा लगिएको थियो । उनीहरुको त्यहीँ बुधबार बिहान मृत्यु भएको हो ।
उनीहरु दुबै जनाको शव अहिले लुम्बिनी अञ्चल अस्पतालमा राखिएको छ ।
कुख्यात गुण्डा नाइके मनोज पुन प्रहरीको मोस्टवान्टेड सूचीमा थिए । गत वर्ष देवदहमा भएको युवा संघका नेता दुर्गा तिवारीको हत्याको मुख्य आरोपी पुनको असोजमा काठमाडौंमा भएको शरद कुमार गौचनको हत्यामा पनि शंलग्नता रहेको प्रहरीले जनाएको छ।
गत पुस २२ गते उनले देवदहमा बसन्त पौडेलको हत्या गराएका थिए। व्यापारीहरुको हत्या गर्ने र फिरौती असुल्ने धन्दा उनले चलाउदै आएका थिए।
३० बर्षिय मनोज पुन रुपन्देही जिल्लाको देवदह नगरपालिका–६ निवासी हुन् । उनको वास्तविक नाम मनोज बुढामगर हो । उनी कुनै बेला नेकपा एमालेको ‘युथ फोर्स’ गठन भएको केही समयपछि युथ फोर्स रुपन्देही क्षेत्र नम्बर–१ का कोषाध्यक्ष थिए ।
संगठनमा रहँदा पनि उनले गुण्डागर्दी गर्ने, फिरौती माग्ने तथा धम्काउने जस्ता कामलाई निरन्तरता दिँदै आएको बताइन्छ । उनी साना साना अपराध गर्दा गर्दै देवदह क्षेत्रमा ठेक्कापट्टाको काममा समेत संलग्न हुन थालेका थिए ।