कृष्णले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष, छोराछोरी दुवैको मानसिक अवस्था असामान्य

Posted on: 21 May, 2024

जेठ ८, काठमाडौं | काठमाडौंको कागेश्वरी नगरपालिका- ५ स्थित थलीमा मृत भेटिएका ५४ वर्षीय कृष्ण नगरकोटीको छोराले पनि आत्महत्या प्रयास गरेको प्रहरीले बताएको छ ।

छोरा २१ वर्षीय रिचेन नगरकोटीले आत्महत्या गर्न खोजिरहेको अवस्थामा प्रहरीले उद्धार गरेको हो । छोरी २९ वर्षीया रश्मी नगरकोटीलाई भने प्रहरीले सेतोपुलबाट नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार कृष्णको छोराछोरी नै मानसिक अवस्था ठीक नभएको पाइएको छ ।

आज बिहान साढे ५ बजे घाँटी रेटिएको अवस्थामा कृष्णको शव थली ओरालो नजिक बन्दै गरेको ढुंगाको पर्खालको छेउमा भेटिएको थियो । उनको साथमा रहेको ड्राइभिङ लाइसेन्सबाट नगरकोटीको पहिचान खुलेको थियो ।


नगरकोटीका छोरालाई हिजो साँझ ५ बजे दक्षिणकालीको चाल्नाखेलबाट आत्महत्या प्रयास गर्दा गर्दै उद्धार गरेको प्रहरी स्रोतले जानकारी दिएको छ । यता थलीमा बुबा कृष्ण आज बिहान मृत फेला परेका थिए । कृष्ण १५ वर्ष अघिदेखि आफैँ ट्याक्सी चलाउँदै आएका थिए । तीनैजना ३ महिनादेखि घर नगई ट्याक्सीमा नै खाने-बस्ने गर्दै आइरहेको बताइएको छ ।

कृष्णकी श्रीमतीले ८ वर्षअघि नै दोस्रो बिवाह गरेको पाइएको छ । उनको श्रीमतीले छाडेर गएदेखि छोरी रश्मि र छोरा रिचेन काठमाडौंको रबि भवन, गणेशथानमा कोठा डेरा लिई बस्दै आएका थिए । कोठा भाडा तिर्न नसकेपछि ३ महिनादेखि छोरा छोरी समेत ट्याक्सीमै बस्दै आएको अनुसन्धानबाट खुलेको छ ।

छोरा रिचेन र छोरी रश्मी दुबै जनाको मानसिक अवस्था साधारण नदेखिएको प्रहरीले बताएको छ । हिजो बिहान १० बजे सेतो पुल नजिक ट्याक्सी बिग्रिएकोले मिस्त्री बोलाई ल्याउँछु भनेर कृष्णको छोरी रश्मी नगरकोटीलाई त्यही स्थानमा छाडी छोरा रिचेनलाई साथमा लिई गएको पाइएको छ ।

‘हिजो दिउँसो ११ बजे ट्याक्सी बिग्रियो सामान लिन जाने भनेर छोरीलाई सेतोपुल छोडेर बुबा र छोरा हिँडेका थिए । त्यसपछि बुबा एकातिर दाइ एकातिर लागेको अनुसन्धानबाट खुलेको छ । घटनाको प्रकृति हेर्दा आत्महत्या भएको प्रारम्भिक निष्कर्ष छ’, एक प्रहरी अधिकारीले भने ।

छोरा रिचेनको बयान अनुसार पारिवारीक अवस्था, गरिबी लगायतले जिन्दगीवाट दिक्क लागि छोरा समेतलाई आत्महत्याको लागि मुखमा कपडा राखी ब्लेडले घाटी काटने तरिका सिकाएर २ वटा ब्लेड र १२५ रुपैयाँ गाडी भाडा समेत दिई दक्षिणकाली नगरपालिका १ जंगलमा गई आत्महत्या गर्नु म पनि कुनै स्थानमा गै आत्महत्या गर्छु भन्ने खुलाएको छ ।

छोरा रिचेनको घाटी बाँया पट्टीवाट झण्डै ७/८ सेमी लामो ब्लेडले काटिएको अवस्थामा प्रहरीले उद्धार गरेको थियो । कृष्णको दाहिने हातको बुढीऔला र चोर औलामा ब्लेडले काटेको पाइएको छ । घटना स्थलमा कृष्ण नगरकोटीको लास नजिक ४ वटा जिलेट ब्लेड र घाइते रिचेज नगरकोटीको साथवाट २ वटा जिलेट ब्लेड फेला परेको थियो ।

कृष्णको मुखमा कपडा रहेको अवस्थामा फेला परेको साथै घाइते रिचेन नगरकोटीले समेत सोही तरिका अपनाएको पाइएको छ । बा १ ज। ९६५ नं। को ट्याक्सी र छोरी रश्मि नगरकोटीलाई खोज गर्ने क्रममा कासेतोपुल सडक खण्डमा ट्याक्सी भित्र बसिरहेको अवस्थामा उद्धार गरि जिल्ला प्रहरी परिसरमा राखिएको प्रवक्ता नवराज कार्कीले बताए ।

जिल्ला प्रहरी परिसर काठमाण्डौ र प्रहरी बृत्त बौद्धवाट थप अनुसन्धान भइरहेको उनले बताए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!