डाक्टर बलात्कार र हत्या आरोपितले भने,‘डाक्टरलाई खोज्दै गल्तीवश सेमिनार कोठामा पुगेको थिएँ, शव देखेपछि डराएर भागेँ’

Posted on: 02 Sep, 2024

भदौ १७, काठमाडौँ । प्रशिक्षार्थी डाक्टरको बलात्कार र हत्याका अभियुक्त सञ्जय रोयले घटनाबारे नयाँ दाबी गरेका छन् । टाइम्स अफ इन्डियाको रिपोर्टका अनुसार पोलिग्राफ टेस्टमा उनले सीबीआईलाई अगस्ट ८ को राति सेमिनार कोठामा गल्तीवश प्रवेश गरेको बताएका हुन् ।

अगस्त २५ मा सीबीआईले केन्द्रीय फोरेन्सिक टोलीको सहयोगमा कोलकाताको प्रेसिडेन्सी जेलमा आरोपित रोयको पोलिग्राफ परीक्षण गराएको थियो । अधिकारीहरूले उनीसँग करिब ३ घण्टा सोधपुछ गरेका थिए । उनीसहित हालसम्म १० जनाको पोलिग्राफ परीक्षण भइसकेको छ । जसमा आरजी कारका पूर्व प्रधानाध्यापक सन्दीप घोष, एएसआई अनुप दत्त, ४ जना सह चिकित्सक, एक स्वयंसेवी र दुई जना गार्ड रहेका छन् । 


अभियुक्तका अनुसार एक जना बिरामीको अवस्था नाजुक थियो । उनलाई अक्सिजन चाहिएको थियो । त्यही भएर उनले डाक्टरलाई खोजिरहेका थिए । यसैबिच आफू तेस्रो तल्लाको सेमिनार कोठामा पुगेको रोयको भनाई छ । उनका अनुसार प्रशिक्षार्थी डाक्टरको शव त्यहीँ थियो । उनले डाक्टरको शरीरलाई हल्लाए, तर कुनै चाल थिएन। जसका कारण आफू डराएको र बाहिर भागेको उनको भनाई छ ।

यसै क्रममा कुनै चीजसँग ठोक्किँदा आफ्नो ब्लुटुथ उपकरण त्यहीँ खसेको रोयको जिकिर छ। आरोपितले प्रशिक्षार्थी डाक्टरलाई पहिले नै नचिनेको दाबी गरेका छन् । घटना भएको दिन अस्पतालको गेटमा सुरक्षाकर्मी नभएको र कसैले नरोकेको पनि उनले बताए । डाक्टरको शव अगस्त ९ को बिहान फेला परेको थियो । त्यसपछि देशभरका चिकित्सकहरू सडकमा उत्रिएका थिए । सर्वोच्च अदालतको पुनरावेदनपछि धेरै अस्पतालका चिकित्सकले हडताल रद्द गरेका छन् ।

कोलकाता उच्च अदालतको आदेशमा सीबीआईले यस मुद्दाको अनुसन्धान गरिरहेको छ। एजेन्सीले अगस्त २९ तारिखमा अस्पतालका दुईजना सुरक्षा गार्डको पोलिग्राफ टेस्ट गरेको थियो । सो रात अस्पतालको मुख्य गेटमा दुवै गार्डलाई तैनाथ गरिएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!