क्रोएसियाको एक नर्सिङ होममा गोली चल्दा ६ जनाको मृत्यु

Posted on: 23 Jul, 2024

साउन ८, काठमाडौँ । क्रोएसियाको एक नर्सिङ होममा गोली चल्दा ६ जनाको मृत्यु भएको छ । आक्रमणपछि देशमा बन्दुक नियन्त्रणमा कडाइको माग उठ्न थालेको छ ।

पूर्वी सहर दारूवरमा रहेको एक नर्सिंग होममा भएको गोलीकाण्डमा एक कर्मचारीसहित पाँच जनाको मृत्यु भएको हो भने अर्का एक जनाको पछि अस्पतालमा मृत्यु भएको बीबीसीले जनाएको छ ।

आक्रमणमा परी कैयौं घाइते भएको र चार जनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।


क्रोएसियाली मिडियाका अनुसार आक्रमणकारी हमलापछि घटनास्थलबाट भागेका थिए र पछि क्याफेबाट पक्राउ परेका थिए । उनको साथबाट हतियार समेत बरामद गरिएको छ ।

क्रोएसियाका राष्ट्रपति जोरान मिलानोभिकले गोली प्रहारबाट आफू स्तब्ध भएको बताएका छन् । उनले देशमा बन्दुकसम्बन्धी नियम ‘अझै कडा’ बनाउने कुरा गरेका छन् ।

“यो एक गम्भीर चेतावनी हो र सबै संस्थाहरूलाई समाजमा हिंसा रोक्नको लागि थप कार्य गर्न आह्वान हो,” राष्ट्रपति मिलानोभिकले सामाजिक सञ्जालमा पोस्टमा लेखेका छन् ।

प्रधानमन्त्री एन्ड्रेज प्लेन्कोभिकले यसलाई “भयानक आक्रमण” भनेर वर्णन गर्दै पीडितहरूप्रति समवेदना व्यक्त गरे । स्थानीय मिडियाबाट प्राप्त अपुष्ट रिपोर्टहरू अनुसार आक्रमणकारी एक पूर्व सैनिक हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!