असार १३, काठमाडौँ | नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्तले काठमाडौं जिल्ला अदालतको थुनछेक आदेशविरुद्ध उच्च अदालत पाटनमा निवेदन दिएका छन् ।

असार १ गते न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले पक्राउ परेका १८ जनामध्ये दुईजनालाई धरौटीमा रिहा र १६ जनालाई थुनामा पठाउन आदेश दिएको थियो ।

जिल्ला अदालतको आदेश बेरितको रहेको दाबीसहित निवेदकले उक्त आदेश खारेज गरी धरौटीमा रिहा गर्न माग गरेका छन् ।

आदेशपछि प्रतिवादीमध्येका टंक गुरुङ १० लाख र लक्ष्मी महर्जन पाँच लाख धरौटीमा रिहा भएका थिए । मुद्दामा प्रतिवादी रहेका 'हाई प्रोफाइल'हरू बालकृष्ण खाँण, टोपबहादुर रायमाझीलगायत सबैलाई जगन्नाथ देवको केन्द्रीय कारागारमा थुनामा पठाइएको थियो ।

प्रतिवादीमध्येका हालसम्म पूर्वसंविधान सभा सदस्य आङ्टावा शेर्पा, खाँणका स्वकीय सचिव नरेन्द्र केसी र गोविन्द चौधरीको तर्फबाट जिल्ला अदालतको थुनछेक आदेश बदर माग गर्दै निवेदन परेको छ । उच्च अदालतकी प्रवक्ता मन्दिरा शाहीले उक्त निवेदनको पेसी तोकिनसकेको बताएकी छन् ।

त्यस्तै, दुई प्रतिवादीलाई धरौटीमा रिहा गर्ने आदेशविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंसमेतको तयारी भएको जानकारी सहन्यायाधिवक्ता अच्युत नेउपानेले जानकारी दिए ।

Related News