असार १९, काठमाडौँ | नेपाली कांग्रेसका सांसद विनोदकुमार चौधरीले सरकारको राजस्व संकलनको अवस्था डर लाग्दो रहेको बताएका छन् ।

मंगलबार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै सांसद चौधरीले यस्तो बताएका हुन् ।

‘सरकारको राजस्व उठ्ने तस्वीर हेर्दा अत्यन्तै डर लाग्दो छ । १७ असारसम्म ९ खर्बको हाराहारीमा मात्रै उठ्नु र हाम्रो साधारण खर्च नै १० खर्ब भन्दा बढी हुनु गम्भीर स्थिति छ,’ उनले भने ।

सांसद चौधरीले सरकारले नै मुलुकको अर्थतन्त्र चलायमान बनाउन नसकेको स्वीकार गरेकाले अर्थतन्त्र चलायमान बनाउनेतर्फ सरकारको ध्यान जान आवश्यक रहेको बताए । उनले नेपाल राष्ट्र बैंकले लगाएको आयात प्रतिबन्ध खोल्ने काम भएपनि आयात बढ्न नसक्दा समग्र अर्थतन्त्र चलायमान हुन नसकेको बताए । उनले अर्थतन्त्रमा देखिएका समस्या र चुनौतीका कारण देशभित्र लगानी बढ्न नसकेको उल्लेख गरे । सांसद चौधरीले वर्तमान सरकार अर्थतन्त्र चलायमान बनाउने, लगानीमा वृद्धि गर्ने र कष्ट अफ डुइङ बिजनेस घटाउन विशेष ध्यान दिनुपर्ने बताए ।

‘आउने दिनहरुमा सरकारले गर्ने छलफल अर्थतन्त्रलाई चलायमान बनाउने र लगानी बढाउनेतर्फ हुनुपर्छ । आउने दिनहरुमा लगानीलाई कसरी प्रोत्साहन गर्ने र अहिले बैंकहरुसँग निक्षेप तथा कर्जाको रेसियो ८३ प्रतिशतमा छरेको छु । न्यूनतम ९० प्रतिशत हुनुपर्छ । किन बैंकहरुले ऋण दिन सकिरहेका छैनन् । बैंकहरुसँग ठूलो तरलता हुँदा पनि ब्याजदर किन घट्न सकेको छैन । के हो राष्ट्र बैंकको नीति ?’ चौधरीले भने ।

Related News