माघ १७, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले गृह मन्त्रालय आफूहरुले नै पाउनुपर्ने दावी गरेका छन् ।

गृह मन्त्रालयमा सभापति रवि लामिछानेलाई नै पठाउने वा अरु कसैलाई पठाउने भन्ने विषयमा छलफल भइरहेको उनले बताए । ‘सभापतिलाई गृहमन्त्रीको रुपमा पठाउँदा के सजिलो/अप्ठेरो हुन्छ वा अरुलाई पठाउँदा के हुन्छ हामी निर्णय गर्छौं’ उनले भने ।

गृह मन्त्रालय नपाउँदैमा सरकारबाट बाहिरिने भन्ने हल्ला सत्य नभएको पनि सहमहामन्त्री बुर्लाकोटीले बताए । ‘तर हामीलाई गृह मन्त्रालय किन नदिने भन्ने प्रष्ट र बलियो कारण त दिनुपर्यो नि’ उनी भन्छन् ।

सरकार गठन गर्दा दलहरुबीचको छलफलमा गृह मन्त्रालय रास्वपाले पाएकाले त्यसमा आफूहरुको अधिकार उनको भनाइ छ । अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता लिन कानुन अनुसार पुर्याउनुपर्ने प्रक्रिया पूरा नगरेका कारण सर्वोच्च अदालतको आदेशमा रास्वपाका सभापति लामिछानेले सांसद र गृहमन्त्री पद गुमाएका थिए । गत आइतबार नेपाली नागरिकता लिएपछि लामिछानले गृह मन्त्रालय फेरि आफूलाई दिन प्रधानमन्त्रीलाई दबाव दिइरहेका छन् ।

मंगलबार पनि लामिछानेले प्रधानमन्त्री प्रचण्डलाई भेटेका थिए । भेटबारे सहमहामन्त्री बुर्लाकोटीले भने ‘सभापतिसँथको भेटमा प्रधानमन्त्रीले हुन्छ हामी सोचौला, छलफल गरौंला भन्नुभएको छ ।’