असार ४, काठमाडौँ | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५३ लाख नगदसहित एक जना वृद्धालाई प्रहरीले पक्राउ गरेको छ।

विमानस्थलको आन्तरिक उडानतर्फबाट प्रहरीले ५३ लाख ८ हजार ५०० रुपैयाँसहित एक जना वृद्धालाई पक्राउ गरेको त्रिभुवन विमानस्थल सुरक्षा प्रहरी कार्यालयका डिआइजी अर्जुन ठकुरी चन्दले जानकारी दिए।

ह्यान्ड ब्यागेज चेकिङ गर्नेक्रममा पर्वतकी ७० वर्षीया बिबीकुमारी गुरूङबाट स्रोत नखुलेको उक्त रकम फेला परेको हो। आइतबार अपराह्न साढे ४ बजेतिर उनी बुद्ध एयरको फ्लाइटबाट भैरहवा जान लागेकी थिइन्।

एक्सरे मेसिनमा स्क्रिनिङ गर्नेक्रममा उक्त रकम देखिएपछि प्रहरीले नियन्त्रणमा लिएको हो। उनलाई कार्यालय जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाएको छ।

डिआइजी चन्दका अनुसार हुन्डीको रकम हुनसक्ने आशंका छ। उनीमार्फत अन्य संलग्न व्यक्तिको पनि पहिचान खुल्न सक्ने प्रहरीले जनाएको छ।

Related News