असार ११, काठमाडौँ । अस्ट्रेलियाका ओपनर ब्याटर डेभिड वार्नरले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट पनि संन्यासको घोषणा गरेका छन्।

अमेरिका र वेस्टइन्डिजमा जारी आईसीसी टी–२० विश्वकप क्रिकेटको सुपर ८ बाटै बाहिरिएपछि वार्नरले १५ वर्षे क्रिकेट करियरमा पूर्णविराम लगाएका हुन्।

अस्ट्रेलिया सोमबार बेलुका भएको खेलमा भारतसँग पराजित भएको थियो। जुन खेलमा वार्नरले ६ बलमा मात्रै ६ रन जोडेका थिए। यो नै उनको अन्तर्राष्ट्रिय टी–२० करियरको अन्तिम इनिङ्स बन्न पुग्यो।

पहिलो ओभरको अन्तिम बलमा आउट भएर मैदानबाट बाहिरिँदै गर्दा पनि उनका लागि राष्ट्रिय जर्सीमा यही खेल अन्तिम हुने निश्चित भइसकेको थिएन।

वार्नरले एकदिवसीय र टेस्ट क्रिकेटबाट भने यसअघि नै संन्यास लिइसकेका थिए।

गत नोभेम्बरमा एक दिवसीय विश्वकपको फाइनलमा भारतलाई हराएपछि एक दिवसीय क्रिकेटबाट संन्यास लिएका उनका लागि टी–२० को अन्तिम खेल पनि भारतविरुद्ध नै हुन पुग्यो।

तर एक दिवसीयबाट विदा हुँदा जस्तो टी–२० को अन्तिम खेलको नतिजा भने हुने सकेन। उनले टेस्टको अन्तिम खेल गत जनवरीमा पाकिस्तानविरुद्ध खेलेका थिए।

३७ वर्षका वार्नरले टी–२० र एक दिवसीयमा सन् २००९ को जनवरीमा दक्षिण अफ्रिकाविरुद्ध डेब्यू गरेका थिए। त्यसको दुई वर्षपछि सन् २०११ मा न्युजिल्यान्डविरुद्ध टेस्ट क्रिकेट खेले। तर उनको संन्यास घोषणा भने अकस्मात् बन्यो।

मंगलबार बिहान बंगलादेश अफगानिस्तानसँग नाटकीय रुपमा पराजित हुँदा यसको नमिठो धक्का अस्ट्रेलियाले व्यहोर्नुपर्यो। यदि यो खेलमा बंगलादेश विजयी भएको भए अस्ट्रेलिया सेमिफाइनलमा प्रवेश गर्ने थियो।

सुपर ८ का सबै खेल हारेको बंगलादेशको नतिजाले अस्ट्रेलियालाई पनि निराश बनाएको हो। सुपर ८ मा अस्ट्रेलियाले बंगलादेशलाई मात्रै जित्यो। एजेन्सी