साउन ४, काठमाडौँ । हाँस्य टेलिश्रृंखलामा सफलता हासिल गरेपछि फिल्म निर्माणमा आउने कलाकारहरुको समुह बढ्दो छ । मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यबाट सुरु भएको यो श्रृंखला दीपकराज गिरी र दीपाश्री निरौला हुँदै अब ‘सक्किगोनि’ का कुमार कट्टेल र अर्जुन घिमिरेसम्म आइपुगेको छ । यो समुहले शुक्रबार एक कार्यक्रमका बीच पहिलो फिल्मको रुपमा ‘लाज शरणम्’ को औपचारिक घोषणा गर्यो ।

गत फागुनमा पोस्टरमार्फत् फिल्मको नाम सार्वजनिक गरिएको थियो । तर, निर्देशकसहित कलाकारहरुको नाम खुलाइएको थिएन । शुक्रबार घोषणा कार्यक्रममा कुमार कट्टेल (जिग्री) ले फिल्मको निर्देशन गर्ने जानकारी गराइयो । यसमा उनी स्वयंको लेखन छ । कुमारले यसअघि ‘भद्रगोल’ र अहिले ‘सक्किगोनि’मा पनि अभिनयसहित लेखन र निर्देशनको जिम्मेवारी सम्हाल्दै आइरहेका छन् ।

महाशिवरात्रीको दिन पारेर आगामी फागुन १४ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको फिल्ममा ‘सक्किगोनि’ टेलिश्रृंखलाबाट अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले), कमलमणि नेपाल (खुपीका बाउ) छन् भने अन्य कलाकारहरुमा मुकुन्द श्रेष्ठ, विजय बराल र माला लिम्बू छन् । कुमारको भने अभिनय रहने वा नरहने तय छैन । यद्यपि, उनको केमियो भूमिका हुनसक्ने सम्भावना प्रवल छ ।

सुदीप बरालको छायांकन रहने फिल्मको निर्मातामा नविन श्रेष्ठ र सह-निर्मातामा नरेश शाह छन् । आगामी भदौपछि छायांकन हुन लागेको फिल्मले समसामयिक विषय उठाउनेछ । फिल्मको घोषणा कार्यक्रममा मिडिया हबका सञ्चालक सोम धिताललाई समेत सम्मान गरिएको थियो । कार्यक्रममा हरिवंश आचार्य, दीपाश्री निरौला, केदार घिमिरे लगायतका थुप्रै कलाकारहरु उपस्थित थिए ।

Related News