असोज १७, भादगाउँ । मध्यपुरथिमि–१ लोहकिल्थलीमा कोरोना सङ्क्रमणका कारण एक पुरुषको आज बिहान मृत्यु भएको छ ।

घरमै आइसोलेसनमा बसेका ५० वर्षीय ती पुरुषको पाटन अस्पताल लैजाँदै गर्दा मृत्यु भएको परिवारले जनाएको छ ।

पाँच दिनअघि कोरोना पुष्टि भएका ती पुरुष निमोनियाका पुराना बिरामी भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

नेपाल विद्युत् प्राधिकरणका कर्मचारीसमेत रहेका ती पुरुषलाई शुक्रबार साँझ श्वासप्रश्वासमा समस्या भएर अवस्था जटिल बनेको थियो ।

यससँगै भक्तपुरमा कोरोनाले मृत्यु हुनेको सङ्ख्या ३२ पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार मृत्यु हुनेहरुमा १० महिला र २१ पुरुष छन् ।