मङ्सिर १, काठमाडौं । २०७२ को भूकम्पका कारण क्षति पुगेपछि बालगोपालेश्वरको मन्दिर बन्द थियो । आज भाइटिकाको अवसरमा खुल्ने भएको छ ।

रानीपोखरीको बिचमा अवस्थित बालगोपालेश्वर मन्दिर आज पाँच वर्षपछि भाइटीकाको दिन खुल्ला गरिएको छ । दिदीबहिनी नहुनेहरूले यस मन्दिरमा पूजा गर्ने र टीका लगाउने चलन छ । बालगोपालेश्वर मन्दिर वर्षको एक दिन भाइटीकाको दिनमा मात्र खुल्ने गर्दछ ।

यसअघि मन्दिरभित्रको मूर्तिलाई छाउनीस्थित संग्रहालयमा राखिएको थियो । अघिल्ला वर्षहरुमा भाइटीकाको दिन रानीपोखरीको बाहिर मूर्ति राखेर पूजा गरिन्थ्यो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले २७ करोड रुपैयाँ खर्चेर कात्तिक महिनामा रानीपोखरी पुनर्निर्माण सम्पन्न गरेको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले गएको कात्तिक ५ गते रानीपोखरी उदघाटन गर्नुका साथै बालगोपालेश्वरको प्राणप्रतिष्ठा पूजा गरेकी थिइन् ।

विज्ञ समूहको प्रतिवेदनअनुसार रानीपोखरीको बालगोपालेश्वर मन्दिर प्रताप मल्लको पालामा बनाइएको ग्रन्थकुट (शिखर) शैलीमै पुनर्निर्माण गरिएको छ ।

विक्रम संवत् २०३५ पछि नियमित रुपमा रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिर भाइटीकाको दिन खुल्न थालेको हो ।