बत्तिको पासोद्धारा धानमा लाग्ने किरा नियन्त्रण

Posted on: 23 Jul, 2016

भाष्कर के.सी | साउन ८, कञ्चनपुर | कृषि विकास कार्यालय कञ्चनपुरको अगुवाइमा जिल्लाका बिभिन्न क्षेत्रहरुमा बत्तिको पासोबाट धानमा लाग्ने बिभिन्न खाले किराहरु नियन्त्रण अभियान शुरु गरिएको छ ।

क्षेत्रिय बीउबीजन प्रयोगशाला सुन्दरपुरबाट यो अभियानको शुरुवात गरिएको छ । यस अभियानले धानमा लाग्ने गबारो, पात बेरुवा, फडके किरा जस्ता किराहरु नियन्त्रण भइ उत्पादनमा बृद्धि गर्न सकिने कृषि विकास कार्यालयका बरिष्ठ कृषि विकास अधिकृत टिकाराम थापाले जानकारी दिनुभएको छ ।

जिल्ला कृषि विकास कार्यालयका प्राबिधिकहरुले गाँउ गाँउमा यो अभियान संचालन गर्ने समेत उहाँले बताउनु भएको छ। यसरी बत्तिको पासोमा किरा नियन्त्रण गर्ने अभियान कञ्चनपुर जिल्लामै पहिलो पटक संचालन गरिएको हो । बिना बिषादी र कम लागतमा किरा नियन्त्रण गर्न सकिने भएका कारण यो कार्यक्रम प्रभावकारी भएको क्षेत्रीय बीउबीजन प्रयोगशाला कञ्चनपुरका बरिष्ठ बालि विकास अधिकृत विमल थापा क्षेत्रीले जानकारी दिनुभएको छ । बिषादी किन्नका लागि बजार धाइरहनु नपर्ने र बिषादीबाट हुने असरबाट बचिनुका साथै कमै लागतमा किरा नियन्त्रण गर्न सकिने भएपछि कञ्चनपुरका कृषकहरु यसरी बत्तिको पासोमा किरा नियन्त्रण गर्ने अभियानमा लागेका छन् । 

समसाझँमा यसरी करिब १० दिनमा एक पटक आधा देखि १ घण्टा बत्ति बालेर किरा नियन्त्रण गरेमा धानबालीमा लाग्ने सबै किरा नियन्त्रण गर्न सकिने जिल्ला कृषि विकास कार्यालय कञ्चनपुरले जनाएको छ ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!