साउन २८, सर्लाही | सर्लाहीमा भारतबाट घुम्न आएका एक युवकको विभत्स हत्या भएको छ। गत बिहीबार बिहान साढे ८ बजे हरिवन नगरपालिका-४ स्थित पूर्वपश्चिम राजमार्गको लखनदेई पुलमुनि शरीरबाट छुट्टिएको अवस्थामा युवकको टाउको फेला परेको थियो।

शनिबार साँझ सवा ६ बजे लालबन्दी नगरपालिका-१७ कालिनजोर पुल नजिकै पूर्वपश्चिम लोकमार्गस्थित कालिनजोर जंगलमा टाउको मुनिको शरीर फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका एसपी नरेशराज सुवेदीले जानकारी दिए।

टाउको फेला परेपछि जिल्ला प्रहरी कार्यालयका एसपी नरेशराज सुवेदी नेतृत्वको टोली खटिएर अनुसन्धान अघि बढाएको थियो। टाउको मात्रै फेला परेपछि प्रहरीले शरीरको खोजी गरिरहेको थियो। राजमार्गबाट अन्दाजी २० मिटरभित्र मृत युवकको शरीर फेला परेको हो। टाउको फेला परेको ठाउँबाट करिब ७ किलोमिटर टाढा शरीर फेला परेको प्रहरीले जनाएको छ। टाउको मुनिको शरीरको भागमा भने गन्जी मात्रै लगाइएको थियो। पाइन्ट लगाइएको थिएन।

घटनाको अनुसन्धान सुरू गर्दा नै मृतकको हत्या नै भएको हो भन्नेमा प्रहरी केन्द्रीत थियो। टाउको धारिलो हतियारले नै काटेको भन्नेमा अनुसन्धान अधिकृतहरू विश्वस्त थिए। शरीरका अन्य भागमा पनि कुनै चोट भने भेटिएको छैन। अनुसन्धान गर्नुअघि प्रहरीलाई मृतकको पहिचान गर्नु चुनौती थियो। सर्लाहीले अन्य जिल्लाका प्रहरी कार्यालयमा पनि पत्राचार गरेको थियो। नदीमा बाढी आएकाले अन्य जिल्लामा फालिएको टाउको सर्लाहीमा फेला परेको हो कि भन्ने आशंकामा प्रहरीले अनुसन्धान थालेको थियो। प्रहरीले अन्य जिल्लामा पत्राचार गर्नुका साथै भारतीय प्रहरीलाई पनि खबर गरेको थियो।

भारतीय प्रहरीलाई पत्राचार गरेपछि भने मृतकको पहिचान भयो। एसपी सुवेदीका अनुसार मृतक भारतीय नागरिक हुन्। उनी बिहारको सितामढी मणियारीका अभिषेक राजको भएको खुलेको छ। प्रहरीले मृतकको परिवारलाई सम्पर्क गरेर थप तथ्य फेला पारेको छ। मृतक अभिषेक अन्य केही साथीहरूसँग नेपालमा घुम्न आएका थिए। घरबाट घुम्न भनेर साउन २० गते हिँडेको एसपी सुवेदीले बताए।

उनीहरू स्कार्पियो गाडीमा नेपाल आएको खुलेको छ।

‘हत्यामा संलग्न व्यक्तिहरू सबै जना भारतीय नागरिकहरू नै हुन्। घरबाट नेपालतर्फ घुम्न जाने भनेर हिँडेका रहेछन्,’ उनले भने, ‘यहाँ कुन-कुन ठाउँमा घुमे/बसे भन्ने खुलेको छैन। उनीहरू कहाँकहाँ गए भन्ने पनि खोज्दैछौं।’

अभिषेक राजको हत्या २४ गते राति भएको खुलेको एसपी सुवेदीले बताए। त्यसको भोलिपल्टै टाउको फेला परेको हो। अभिषेकको हत्या कहाँ भएको थियो भन्नेचाहिँ खुलेको छैन। अभिषेकको शरीर फेला परेको ठाउँमा पनि हत्या गर्न सम्भव नदेखिएको उनी बताउँछन्।

‘शरीर फेला परेको ठाउँ पनि घटनास्थल होइन। त्यहाँ पनि फाल्न मात्रै ल्याएको देखिन्छ,’ उनले भने, ‘राजमार्गबाट एकदमै नजिक छ। त्यहाँ ल्याएर हत्या गर्न सक्ने स्थिति पनि छैन। गाडी पनि गुडिरहने र बजारबाट पनि नजिक छ।’

स्कार्पियो गाडीकै प्रयोग गरी त्यहाँ ल्याएर फ्याँकिएको हुनुपर्ने प्रहरीको अनुमान छ। एसपी सुवेदीले अभिषेकको हत्या पेशेवर अपराधीबाट भएको बताए।

‘नेपालमा उनीहरूको कनेक्सन छ कि भनेर पनि हामीले अनुसन्धान गरिरहेका छौं। घरबाट नेपाल घुम्न जाने भने पनि कहाँ जाने भनेका रहेन छन्। घटनाबारे बुझ्दा विशुद्ध पेशेवर आपराधिक समूहबाटै मारिएको हो जस्तो देखिन्छ,’ उनले भने।

मृतक आफैं पनि आपराधिक पृष्ठभूमि भएका व्यक्ति हुन्। तर विस्तृत रूपमा बुझिनसकेको प्रहरीले जनाएको छ।

प्रहरीले अभिषेकसँगै नेपाल आएका व्यक्तिहरूको हुलिया पहिचानसमेत गरिसकेको छ। तर कसैलाई पक्राउ गरिसकेको भने छैन। अभिषेकसँगै अन्य तीन/चार जना नेपाल आएको हुनुपर्ने प्रहरीले बताएको छ।

शवको पोष्टमर्टम गर्न टाउको काठमाडौंस्थित टिचिङ अस्पतालमा पठाइसकेको छ। शरीरको भाग पनि काठमाडौं तयारी भइरहेको प्रहरीले जनाएको छ।