भदौ २०, काठमाडौँ। लोकसेवा आयोगबाट खुलाइने विज्ञापनमा सयौँ गुना दरखास्त परे पनि केही विज्ञापनमा भने दरखास्त नै नपर्ने गरेको छ ।

आव२०७३/०७४ मा विज्ञापन खुलाइएका ३९ पदमा कुनै पनि दरखास्त नपरेको आयोगले जनाएको छ । आयोगबाट यसरी खुलाइएका विज्ञापनमा दरखास्त नपर्ने स्वास्थ्यतर्फका प्राविधिक पद छन् । एघार पदबाहेक सबै स्वास्थ्यतर्फका प्राविधिक पदमा दरखास्त नै नपर्ने गरेको आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले जानकारी दिनुभयो ।

टाइपिस्ट, मौसम विज्ञापन सहायक, नायब मौसम विज्ञान सहायक, रेखा विशेषज्ञ, इञ्जिनियरिङजस्ता सेवाबाहेक सबै स्वास्थ्य सेवाका पद छन् । उहाँका अनुसार चौथो पददेखि नवौँ पदसम्मका ती विज्ञापनमा दरखास्त नपर्ने गरेको हो ।

“पटक पटक हामीले विज्ञापन खुलाउँदा यी विज्ञापनमा दरखास्त परेको पाइँदैन”, उहाँले भन्नुभयो, “सामान्य प्रशासन मन्त्रालयले विज्ञापन खुलाउनका लागि दरखास्त उपलब्ध गराएपछि हामीले खुलाएका हौँ ।”

यसरी दरखास्त नपर्ने अधिकांश पद आन्तरिक प्रतियोगिताबाट पूर्ति गर्नुपर्ने पद छन् । तीमध्ये दुई मात्र खुला प्रतियोगिताबाट मात्र पदपूर्ति गर्नुपर्ने रहेका छन् ।

स्वास्थ्यतर्फ खुला चिकित्सक मेटालर्जिष्ट र कन्सल्टेण्ट ट्रपिकल मेडिसिन (फिजिसियन) मात्र छन् । यसैगरी दरखास्त नपर्ने पदमा केमिकल इञ्जिनियर, एनेस्थेटिक सहायक, कन्सल्टेण्ट युरो सर्जन, कन्सल्टेण्ट नेफ्रोलोजिष्ट, कन्सल्टेण्ट ग्याष्ट्रोइन्टेरोलोजिष्ट छन् । यी पदमा दलित र महिलाका लागि दरखास्त मागिए पनि परेनन् । रासस