भदौ २१, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छुट भएका वास्तविक भूकम्पपीडितको नाम थपिने र सहयोग उपलब्ध गराउने सबै भूकम्पपीडितलाई एक लाख रुपियाँ थप गरी तीन लाख रुपियाँ अनुदान दिइने बताएका छन् ।

प्रधानमन्त्रीले भूकम्पपीडितलाई तीन लाख अनुदान र दुई लाख रुपियाँ सहुलियत ऋण गरी पाँच लाख रुपियाँ दिइने पनि स्पष्ट पारेका छन् ।

सिन्धुपाल्चोकबाट आएका चार राजनीतिक दलका सांसदले बुझाएको सातबुँदे ज्ञापनपत्र बुझ्दै आइतबार प्रधानमन्त्रीले यस्तो जानकारी दिएका हुन् । सिन्धुपाल्चोकका सभासद् नेकपा एमालेका अमृत बोहरा, नेकपा माओवादी केन्द्रका अग्निप्रसाद सापकोटा, नेपाली काँग्रेसका मोहनबहादुर बस्नेत, शेरबहादुर तामाङ र राष्ट्रिय प्रजातन्त्र पार्टीका रमेशकुमार लामा संलग्न थिए ।

प्रधानमन्त्रीले भूकम्पपीडितको छुट भएकाको नाम सङ्कलनका लागि प्रक्रिया सुरु गर्न आफूले निर्देशन दिइसकेको र वास्तविक भूकम्पपीडितको नाम थपिने बताउनुभएको थियो ।

भेटमा सहभागी नेताका अनुसार प्रधानमन्त्री दाहालले भूकम्पपीडितलाई तत्काल एक लाख रुपियाँ थपेर तीन लाख रुपियाँ अनुदान दिइने र दुई लाख सहुलियत ऋण गरी पाँच लाख उपलब्ध गराउन प्रक्रिया अगाडि बढाइएको जानकारी गराए । उनले भूकम्पपीडितलाई थप एक लाख रुपियाँ प्रदान गर्ने विषयमा छिट्टै निर्णय गरिने विश्वास पनि व्यक्त गरेका छन् ।

भेटमा प्रधानमन्त्रीले जुरेको पहिरोदेखि नै पीडितलाई राहत र अनुदानका लागि सिन्धुपाल्चोकमा पटक–पटक गएको स्मरण पनि गरे । प्रधानमन्त्रीले सिन्धुपाल्चोक लगायत भूकम्प प्रभावित क्षेत्रका जनताका समस्या समाधानप्रति निकै गम्भीर रूपमा सरकार लागिरहेको बताउनुभयो । प्रधानमन्त्रीले अरनिको राजमार्ग मर्मत र तातोपानी नाका खोल्न आफूले पहल गरिरहेको जानकारी दिए ।गोरखापत्र दैनिक