बसीबसी तलब खाने रेल्वे कम्पनीका १ सय ५१ कर्मचारी बर्खास्त

Posted on: 05 Sep, 2021

भदौ २०, काठमाडौं । नेपाल रेल्वे कम्पनी लिमिटेडले जनकपुर रेल सञ्चालनको सुनिश्चता नहुँदै दैनिक ज्यालादारीमा नियुक्त गरिएको कर्मचारीलाई हटाएको छ । रेल सञ्चालन अनिश्चित बन्दै गएको र भएका कर्मचारीको कुनै काम नभएको अवस्थामा तलब दिएर कम्पनीले आर्थिकभार थेग्न नसकिने भन्दै दैनिक ज्यालादारीमा भर्ना गरिएका कर्मचारीलाई हटाएको हाे ।

तत्कालीन नेपाल रेल्वे कम्पनीका महाप्रन्धक गुरु भट्टराईले पदबाट हटने निश्चत भएपछि हतारहतारमा एक सय ५१ जनालाई कर्मचारीमा भर्ना गरेका थिए । तर, शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि रेल्वेको महाप्रन्धकमा नियुक्त भएका निरञ्जनकुमार झाले ती कर्मचारीलाई हटाएका हुन् । 

महाप्रन्धक झाले सूचना नै जारी गरेर तत्कालीन व्यवस्थापकले दैनिक ज्यालादारीमा नियुक्त गरिएका कर्मचारीहरु काममा नखटाई आफुखुसी हाजिर गर्ने कर्मचारीलाई नेपाल रेल्वे कम्पनी लिमिटेडले कुनै प्रकारको सेवा सुविधान नदिने बताएका छन् । 

केपी ओली नेतृत्वको सरकारले रेल्वे कम्पनीको प्रबन्ध सञ्चालकमा भट्टराईलाई नियुक्त गरेको थियो । रेल सञ्चालनमा नआउँदै रकम उठाएर कर्मचारी भर्ना गरी ठूलो रकम भ्रष्टाचार गरेको तत्कालीन प्रबन्ध सञ्चालक भट्टराईमाथि आरोप लागेको छ । ज्यालादारीमा नियुक्ति पाएका कर्मचारीले काम नगरी ज्याला पाउँदैनन् । - न्युज कारखाना 

यस बिषयमा तपाइको प्रतिक्रिया...!