फागुन १४, काठमाडौँ । नेप्सेमा सूचीकृत रहेका २७ वाणिज्य बैंकमध्ये २० बैंकले गतबर्षको मुनाफाबाट लाभांश घोषणा गरिसकेका छन भने धेरैजसो बैंकले साधारणसभा समेत सम्पन्न गरिसकेका छन् । तर अझै पनि सात वाणिज्य बैंकले भने लाभांश घोषणा र साधारण सभा आह्वान गरेका छैनन् ।

आर्थिक बर्ष सुरु भएको ६ महिनाभित्र सूचीकृत कम्पनीहरुले लाभांश घोषणा गरी साधारणसभा सम्पन्न गरीसक्नु पर्ने कानुनी व्यवस्था छ । तर आर्थिक वर्ष सुरु भएको ७ महिना बितिसक्दा आधा दर्जन वाणिज्य बैंकले साधारण सभा राख्न सकेका छैनन् ।

धेरै जसो बाणिज्य बैंकले गतबर्षको मुनाफाबाट लाभांश प्रस्तावगरी साधारणसभा समेत सम्पन्न गरिसकेका छन् । केही बैंकहरुले दिएको बोनस लगानीकर्ताको डिम्याट खातामा जम्मा भएर पनि दोस्रो बजारमा कारोबारमा आईसकेको छ ।

गत बर्षको मुनाफाबाट सबैभन्दा बढी स्ट्यार्न्डड चार्टर्डले शतप्रतिशत बोनस दिएको छ भने सबैभन्दा कम सेञ्चुरी बैंकले पाँच प्रतिशत बोनस दिएको छ । अधिकांश बैंकले १० देखि २० प्रतिशतको बीचमा बोनस दिएका छन् ।

तर अझै पनि केही बैंकहरुले साधारण सभा नबोलाउदा सेयर लगानीकर्ताहरु अलमलमा परेका छन् । अहिलेसम्म लाभांश घोषणा नगर्नेमा बैंक अफ काठमाण्डू, सिभिल बैंक, कुमारी बैंक, नेपाल बैंक, एनसीसी बैंक, एनएमबि बैंक र प्रभु बैंक रहेका छन् ।

जसमध्ये नेपाल बैंक, एनसीसी बैंक र प्रभु बैंक गत बर्षको कमाईबाट लाभांश दिन नसक्ने अवस्थामा रहेका छन् । यी बैंकहरूकाे सञ्चित जगेडा नाेक्सानी रहेका कारण बोनस वितरण गर्न सक्ने अवस्थामा छैनन् । अन्य बैंकले लाभांश दिन सक्ने भएपनि घोषणा गरेका छैनन् । नेपाल बैंकले भने एफपिओ प्रस्ताव गरेर साधारण सभा बोलाएको छ ।

तोकिएको समयमा लाभांश प्रस्ताव गरी साधारण सभा नगर्ने कम्पनीलाई नियमनकारी निकायले कडा कारबाही नगर्दा कम्पनीहरुको लगानीकर्ताप्रति कम उत्तरदायी बन्दै गएको देखिएको छ । -मेरोलगानीबाट