युरोपेली देश पठाइदिन्छु भन्दै लाखौँ रुपैयाँ ठगी गर्ने ३ जना पक्राउ

Posted on: 21 Mar, 2024

चैत ८, काठमाडौँ |  काठमाडौँबाट वैदेशिक रोजगारीका लागि युरोपेली मुलुक ग्रीस र पोल्याण्ड पठाइदिन्छु भन्दै लाखौँ रुपैयाँ ठगी गर्ने ३ जना पक्राउ परेका छन्। 

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले मंगलबार ग्रीस पठाइदिन्छु भन्दै ६९ लाख ३० हजार रुपैयाँ ठगी गरेको अभियोगमा २ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा महोत्तरी गौशाला नगरपालिका-१२ घर भई काठमाडौँ महानगरपालिका-६ बौद्ध बस्ने २३ वर्षीय निशेष कुमार मोक्तान र गोरखा धार्चे गाउँपालिका-५ घर भई काठमाडौँ महानगरपालिका-३ बसुन्धारा बस्ने २० वर्षीया विनीता गुरुङ रहेका छन् । 

उनीहरूले १२ जनालाई वैदेशिक रोजगारीका लागि ग्रीस पठाई प्रतिष्ठित कृषी कम्पनीमा मासिक १ लाख रुपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितहरूबाट पटक पटक गरी उक्त रकम ठगी गरेको खुल्न आएको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले निशेषलाई काठमाडौँ बौद्धबाट र विनीतालाई काठमाडौँ बसुन्धाराबाट पक्राउ गरेको  हो । 

यता पोल्याण्ड पठाइदिन्छु भन्दै ५ लाख रुपैयाँ ठगी गरेको अभियोगमा पर्वत फलेवास नगरपालिका-२ घर भई काठमाडौँ गोकर्णेश्वर नगरपालिका-९ बस्ने ३७ वर्षीय तिलक बहादुर सापकोटालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

सापकोटाले १ जनालाई वैदेशिक रोजगारीका लागि पोल्याण्ड पठाई प्रतिष्ठित प्याकिङ कम्पनीमा मासिक १ लाख रुपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी उक्त रकम ठगी गरेको खुल्न आएको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौँ महानगरपालिका-३१ बाट पक्राउ गरेको हो । उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!