आरजु-मञ्जुलाई सोधपुछको तयारी छैन, प्रहरी भन्छ- अडियोको विश्वास हुँदैन

Posted on: 08 May, 2023

वैशाख २५, काठमाडौँ | भुटानी शरणार्थी प्रकरण गहिरो बन्दै जाँदा राजनीतिक दलका नेताहरु पनि धमाधम मुछिन थालेका छन् । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भयो भने मिडियामा नयाँ नयाँ नाम आउने क्रम जारी छ । भुटानी शरणार्थी समस्या समाधानका लागि गठित कार्यादलका संयोजक बालकृष्ण पन्थीसँग प्रहरीले सोधपुछ गरेको छ । कार्यदलले तयार गरेको प्रतिवेदनमा नेपाली नागरिक पनि भुटानी शरणार्थीका रुपमा समावेश भएको बाहिर आएपछि अनुसन्धान गरिरहेको काठमाडौं प्रहरी परिसरले तत्कालीन सहसचिवसमेत रहेका पन्थीसँग सोधपुछ गरेको हो ।


यो घटनामा हालसम्म तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजीत राई, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे जस्ता हाईप्रोफाइल व्यक्ति पक्राउ परिसकेका छन् । पूर्वमन्त्री तथा सांसद टोपबहादुर रायमाझीलाई पक्राउ पुर्जी लिएर प्रहरीले खोजी गरिरहेको छ । उनका छोरा सन्दीप भने पक्राउ परिसकेका छन् । टोपबहादुरपछि यस घटनामा कांग्रसका केही चर्चित नेताको नाम पनि आएको छ । स्वयम् सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणा, जो प्राय ठूला भ्रष्टाचारमा आरोपित हुने गरेकी छन्, देखि लिएर पूर्वगृहमन्त्री बालकृष्ण खाँण, उनकी श्रीमती मञ्जु, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई, कांग्रेस नेता रामहरि खतिवडादेखि पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुनको नामसमेत चर्चामा छ ।

आरजु र मञ्जुलाई करोडौं पैसा बुझाएको दाबी गरिएको अडियो पनि सार्वजनिक भएको छ । सामाजिक सञ्जालमा केही दिनदेखि भाइरल भइरहेको अडियोमा कोही व्यक्तिले मञ्जुलाई उनकै घरमा पुगेर ६ करोड र आरजुलाई साढे दुई करोड बुझाएको बताएका छन् । प्रहरीले भने अडियोलाई मात्र आधार मानेर कसैलाई बयान लिन नबोलाइने बताएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय प्रमुख एआईजी श्याम ज्ञवालीले अनुसन्धानमा स्वतन्त्र प्रमाणले पुष्टि नगर्दासम्म प्रतिवादी बनाउन सकिने अवस्था नरहने बताए ।

‘अडियोमा दुई जना व्यक्तिबीच तेस्रो व्यक्तिका विषयमा कुरा भइरहेको छ । तेस्रो व्यक्तिका बारेमा त मानिसहरुले के–के बोल्छन् बोल्छन्, त्यसलाई मात्र प्रमाण मान्न सकिँदैन । स्वतन्त्र प्रमाणले पुष्टि गर्नुपर्छ’, ज्ञवालीले भने ।

कतिपय अवस्थामा त्यस्ता व्यक्तिहरुसँग बुझ्नमात्र सकिने उनले बताए । प्रहरी स्रोतले तत्काल आरजु र मञ्जुलाई अनुसन्धानको दायरामा ल्याउने तयारी नरहेको जनाएको छ । काठमाडौं प्रहरी परिसरका एक अधिकारीका अनुसार अडियोमा भनिए जस्तो पैसा बुझाएको पुष्टि हुने प्रमाण अहिलेसम्म भेटिएको छैन । यसैगरी घटनामा पक्राउ परेका सानु भण्डारीले पनि केही नेता र उच्च पदस्थको नाम लिएका छन् । उनले आरोपित गरेका व्यक्तिहरुको विषयमा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा चासो राखेका थिए । तर, प्रहरीले भने ठोस प्रमाणविना कसैलाई पनि जबरजस्ती अनुसन्धानमा नतान्ने बताएको छ ।

‘कसैले बयानमा बोलेको कुरा सबै साँचो हुन्छ भन्ने छैन । प्रमाणहरुले त्यसलाई स्थापित गर्नुपर्छ’, काठमाडौं प्रहरी परिसरका अधिकारी भन्छन् ।

धैरेले नगदै बुझाएको र अन्य प्रमाणहरु पनि नरहेको बताएकाले अनुसन्धानमा कठिनाइ भएको अधिकारीहरुको भनाइ छ । प्रहरीले विचौलियाका रुपमा पक्राउ गरेका केशव दुलालसँगको सामाजिक सञ्जाल कन्भर्सेसनका आधारमा तत्कालीन गृहसचिव पाण्डेलाई पक्राउ गरेको थियो । एमाले सचिव रायमाझीलाई पक्राउ गर्ने आधारहरु पनि धेरै रहेको ती अधिकारीको दाबी छ ।

‘हाईप्रोफाइल व्यक्तिको हकमा अदालतले पनि त्यत्तिकै पक्राउ पुर्जी जारी गर्दैन’, ती अधिकारीले भने ।

यो प्रकरणमा हालसम्म १६० जनाभन्दा बढी जाहेरवाला देखिएका छन् । आफूहरुले भुटानी शरणार्थी बनेर अमेरिका जान २० देखि ५० लाख रुपैयाँसम्म बुझाएको उनीहरुले बताएका छन् । स्रोतका अनुसार बयानमा पोलिएका र अडियोसँग जोडिएका अन्य हाईप्रोफाइललाई सोधपुछसम्मको पनि तयारी छैन । कानूनविद् भीमार्जुन आचार्य अनुसन्धानका क्रममा आरोपितले बयानमा कसैलाई पोलेमा वा उनीहरुको नाम लिएमा प्रहरीले बोलाएर सोध्न सक्ने बताउँछन् ।

‘अनुसन्धानकर्ता वा अभियोजनकर्ता पूर्वाग्रही छ कि छैन भन्ने कुरा पनि यसमा रहन्छ । अनुसन्धान पूर्ण बनाउने क्रममा त्यस्ता व्यक्तिलाई पनि बोलाइनुपर्छ भन्ने लाग्यो भने उनीहरुलाई पनि अनुसन्धानको दायरामा ल्याउन सकिन्छ’, आचार्य भन्छन् ।

पूर्वडीआईजी हेमन्त मल्ल घटनामा नाम जोडिएपछि कम्तिमा प्रहरीले सोधपुछसम्म गर्नुपर्ने बताउँछन् ।

‘अहिले शरणार्थी प्रकरणमा अनुसन्धान भइरहेको छ । प्रमाणहरुले भेटेसम्म अनुसन्धानको दायरा फराकिलो हुन्छ’, उनले भने, ‘कसैले नाम लिएपछि एकपटक बोलाएर के हो त भन्नेसम्म सोधेको राम्रो हुन्छ ।’


यस बिषयमा तपाइको प्रतिक्रिया...!