चैत २, काठमाडौं | सरकारले हिन्दू धर्मको बृहत्तर खोज तथा अनुसन्धान गर्ने उद्देश्यले ‘श्रीपशुपति हिन्दू विश्वविद्यालय’ स्थापना गर्ने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय (मन्त्रीस्तरको निर्णय)ले हिन्दू धर्मको खोज तथा अनुसन्धान गर्ने उद्देश्यले विश्वविद्यालय स्थापना गर्न लागेको हो । पर्यटनमन्त्री सुदन किराँतीले सो विश्वविद्यालयका माध्यमबाट हिन्दू धर्मसम्बन्धी विश्वभर विज्ञहरू उत्पादन गर्ने र सांस्कृतिक कूटनीतिक विकास गर्ने उद्देश्यले विश्वविद्यालयको अवधारणा अघि बढाइएको बताउनुभयो ।

मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले आधुनिक नेपालको सभ्यताको सुरुआत नेपालबाटै भएकाले यहाँको सभ्यता, सम्पदा, संस्कृति र दर्शनलाई पाशुपत दर्शनभित्र समेटिएको बताउनुभयो । उहाँले भन्नुभयो, “हिन्दू विश्वविद्यालय राष्ट्रको आवश्यकता हो, आधुनिक सभ्यताको सुरुआत नेपालबाटै भएको पाइन्छ, नेपाली धर्म संस्कृति, मूल्यमान्यतालाई देश तथा विदेशमाझ प्रवद्र्धन गर्न यो अभियालनले मद्दत पुग्नेछ ।”

मन्त्री किराँतीले विश्वविद्यालय स्थापनाबाट विश्वभर कूटनीतिक बौद्धिक व्यक्तित्व निर्माणका साथै सांस्कृतिक कूटनीतिको विकास हुने र यसले पर्यटनको विकास हुने विश्वास व्यक्त गर्नुभयो ।

पर्यटन मन्त्रालयका सचिव सुरेश अधिकारीले ‘ड्रिम प्रोजेक्ट’का रूपमा विश्वविद्यालय स्थापना गर्न लागिएको बताउनुभयो । उहाँले हिन्दू धर्मबारे खोज तथा अध्ययन गरी बौद्धिक अध्यात्मक चिन्तनको संस्थागत विकास गर्ने लक्ष्यका साथ विश्वविद्यालय निर्माण गर्न लागिएको जानकारी दिनुभयो ।

उक्त विश्वविद्यालय स्थापनाबाट नेपाली संस्कृति र दर्शनलाई नेपाली माटोको सुगन्धसहित अध्ययन, अध्यापन हुनुका साथै शैक्षिक, धार्मिक तथा सांस्कृतिक पर्यटको प्रवद्र्धन गर्ने हुने विश्वास लिइएको छ ।

फागुन १५ को मन्त्रीस्तरीय निर्णयबाट पशुपति क्षेत्र परिसरमा सो विश्वविद्यालय स्थापनाको सम्भाव्यता अध्ययनसहित अवधारणापत्र तयार गर्न संस्कृतिविद् डा जगमान गुरुङको संयोजकत्वमा समिति गठन गरिएको छ । समितिको सदस्यमा प्रा डा रामचन्द्र गौतम, प्रा चेतोनाथ गौतम, कमल ढकाल र सदस्यसचिवमा पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडा रहनुभएको छ ।

समितिका संयोजक डा गुरुङले पूर्वीय दर्शन सम्भाव्यता र संस्कृतिको नेपालमुखी अध्ययनका लागि विश्वविद्यालय निर्माणको प्रक्रिया अघि बढाइएको बताउनुभयो । मानवीय जीवन पद्दति र यसका विविध आयामलाई पशुपति हिन्दू विश्वविद्यालयले प्रमुख विषय बनाउनुपर्छ भन्ने मान्यता राखेर अभियान सुरु गरिएको कोषका कार्यकारी निर्देशक खतिवडाले बताउनुभयो ।

कोषको प्रस्तावित गुरुयोजनाअनुरुप सो विश्वविद्यालयको प्रक्रिया सुरु गरिएको उहाँले उल्लेख गर्नुभयो । समितिले विश्वविद्यालयको सम्भाव्यता अध्ययन गरी एक महिनाभित्र मन्त्रालयलाई प्रतिवेदन पेस गर्नेछ । प्रतिवेदनअनुरुप विज्ञ तथा सरोकारवालासँग आगामी वैशाखभर छलफल गरेर विश्वविद्यालय निर्माण प्रक्रिया अगाडि बढाइने जनाइएको छ ।

श्रीपशुपति हिन्दू विश्वविद्यालय स्थापना गरिने
Leave a Comment