असार ८, काठमाडौँ | सेन्ट्रल एसियन भलिबल संघ (काभा)अन्तर्गत किर्गिस्तानमा जारी नेशन्स लिग भलिबल प्रतियोगितामा नेपालले लगातार चौथो खेलमा हार ब्यहोरेको छ ।

नेपाल टिम तुर्कमेनिस्तानसँग ३–१ को सेटमा परासजित भएको हो । किगिस्तानको बिस्केकमा जारी प्रतियोगितामा गएराति नेपालले पहिलो सेट १८–२५ ले गुमाए पनि दोस्रो सेटमा २५–२३ को जितका साथ उत्कृष्ट पुनरागमन गरेको थियो ।

तर, तेस्रो र चौथो सेटमा क्रमश: २४–२६, २०–२५ ले गुमाएपछि नेपाल पराजित भएको हो ।

नेपालले किर्गिस्तानको दोस्रो टिम र उज्वेकिस्तानसँग खेल्न बाँकी छ । नेपालले शुक्रबार किर्गिस्तानको दोस्रो टिमसँग खेल्नेछ । उज्वेकिस्तानसँगको खेल आइतबार हुनेछ ।

आयोजक किर्गिस्तानको दुई टिमसहित सात टिमको सहभागिता रहेको यो प्रतियोगितामा नेपालले यसअघि मंगोलियासँग ३–१, किर्गिस्तानसँग ३–१ र इरानसँग ३–० को सेटमा हार ब्यहोरेको थियो ।

प्रतियोगितामा इरान र किर्गिस्तान अहिलेसम्म अपराजित छन् । दुवैले ३–३ खेल जितेका छन् ।

आफूभन्दा माथिल्लो वरीयताका टिमहरुसँग खेलेर एक्स्पोजर र अनुभव लिने नेपाल टिमको योजना छ ।

नेपालले अर्को महिना श्रीलंकामा सेन्ट्रल एसियन सिनियर मेन्स भलिबल प्रतियोगिता खेल्नेछ भने असोजमा एसियाली खेलकुदमा सहभागिता जनाउनेछ ।

यी प्रतियोगिताका लागि पनि बलियो टिमसँगको खेललाई प्रयोग गर्ने रणनीति टिमले बनाएको छ । नेपाल टिम करिव एक महिनाको तयारीपछि किर्गिस्तान गएको हो ।

Related News