

मङ्सिर ८, कालिकोट । जिल्लालाई कर्नालीकै पहिलो पूर्ण साक्षर जिल्लाको द्धारको रुपमा चिनाउन आजको आवश्यकता रहेको जिल्ला शिक्षा अधिकारी विष्णु प्रसाद तिवारीले बताउनु भएको छ ।
नेपाललाई सन २०२० सम्ममा पूर्ण साक्षर घोषणा गर्न नेपाल सरकारले थालेको अभियानलाई सार्थक बनाउन कालिकोटलाई कर्नालीकै पूर्ण साक्षर जिल्लाको द्धारको रुपमा चिनाउन आवश्यक रहेको बताउनु भएको हो ।
जिल्ला शिक्षा कार्यालय कालिकोटको आर्थिक बर्ष २०७३।०७४को बार्षिक कार्यक्रम सार्वजनिकीकरण कार्यक्रममा बोल्दै तिवारीले जिल्लालाई पूर्ण साक्षर जिल्ला घोषणा गर्यौ भने सरकारले शिक्षाको हरेक क्षेत्रमा गर्ने लगानीमा बृद्धि भै शिक्षा क्षेत्रको विकासमा थप बल पुग्ने भएकाले शिक्षा क्षेत्रमा जिल्लाको पहिलो सवाल साक्षर जिल्ला घोषणा अभियानलाई राख्न पर्ने बताउनु भएको छ ।
नेपाल सरकारले जिल्लालाई पूर्ण साक्षर जिल्ला घोषणा गर्न छुट्टै बजेट नछुट्याए पनि नियमित कार्यक्रम अनुसार हाल यो बर्ष अनौपचारीक शिक्षा तथा निरन्तर सिकाई तर्फ विभिन्न शिर्षकमा ३५ लाख ५० हजार बरावरको बजेट छुट्याइएको बताउदै यो अपर्याप्त श्रोतका बावजुत पनि जिल्लामा शिक्षा क्षेत्रमा काम गर्ने विभिन्न दातृ निकाय तथा संघ संस्थाको सक्रियतामा यो आव नभएपनि अर्को आवको दशै सम्म जिल्लालाई पूर्ण साक्षर घोषणा गर्न आवश्यक रहेको तिवारीले बताउनु भएको छ ।
हाल जिल्लाका कालिका, राचुली, चिलखाया, दाहाँ, ओदानकु र गेलालाई पूर्ण साक्षर गाविस घोषणा गरिसकेको छ भने जिल्ला शिक्षा कार्यालयको वयवसाईडमा दिएको जानकारी अनुसार हाल जिल्लामा साक्षरता ६१.२७ प्रतिशत रहेको छ । जसमा पुरुषको साक्षरता ७३.३७ प्रतिशत र महिलाको साक्षरता ५१.१५ प्रतिशत रहेको छ ।
बार्षिक कार्यक्रमको सार्वजनिकीकरण गर्दै तिवारीले विद्यालय क्षेत्र विकास कार्यक्रम अन्तर्गतको पुँजीगत तर्फ ३ लाख ५४ हजार र चालु तर्फ ३८ करोड २८ लाख ११ हजार बरावरको बजेट सार्वजनिकिकरण गर्नु भएको छ ।
यस्तै जिल्लामा कार्यरत शिक्षकको तभ आधारभूत तर्फ ३२ करोड २८ लाख ९२ हजार र माध्यामिक तर्फ १० करोड, ७८ लाख, ६८ हजार ५ सय बजेट रहेको जिल्ला शिक्षा अधिकारी तिवारीले बताउनु भएको छ । यो शैक्षिक सत्रबाट विद्यालय दिवा खाजाको रकम २० प्रतिशतले बढेको छ भने प्रारम्भिक बालविकास कक्षा सहजकर्ताको सेवासुविधा दोब्बरले बढेको तिवारीले बताउनु भएको छ ।


