माघ १९, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ । सरकारबाट बाहिरिने संंकेत दिएको रास्वपाको बैठक दिउँसो ३ बजे बस्दै छ । ‘पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा गर्न बैठक बोलाइएको हो,’ रास्वपाका प्रवक्ता मुकुल ढकालले भने ।

सरकारबाट बाहिरिन लागेको हो भन्ने प्रश्नमा उनले भने, ‘बैठकमा छलफल हुन्छ ।’ उनले सरकारबाट बाहिरिने या बस्ने स्पष्ट पारेनन् । तर, बैठकमा सबै सदस्यको धारणा लिएर ठोस निर्णय गर्ने रास्वपाको तयारी छ । स्रोतका अनुसार बैठकले सरकारबाट बाहिरिने वा बस्ने निर्णय लिनेछ ।

बैठक बस्नुअघि सभापति लामिछानेले गरेको ट्वीटले पनि त्यस्तै संकेत गर्छ । उनले समाजाकि सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘ अब मलाई भन्न बाँकी, गर्न बाँकी, लेख्न बाँकी केही भए भनीहाल्नुहोला, गरीहाल्नु होला, लेखिहाल्नु होला ।’ मेरो मौनता आजसम्मका लागि मात्रै हो । म अभिमन्यु होइन ।’

गत मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर रविले गृह नपाए सरकारबाट बाहिरिने सन्देश दिएका थिए । राहदानी विवाद नटुंगिएको र अदालतको पूर्णपाठ नआएसम्म रास्वपालाई गृह नदिने अडानमा प्रधानमन्त्री प्रचण्ड छन् । एमाले अध्यक्ष केपी ओलीलेसमेत रास्वपालाई गृह दिन दबाब दिए पनि प्रधानमन्त्री प्रचण्ड मानेका छैनन् ।

बिहीबार मोरङ पुगेर समेत अध्यक्ष ओलीले पूर्वसहमति अनुसार गृह मन्त्रालय रास्वपाले नै पाउने बताएका छन् । ‘सत्ता गठबन्धन दलहरूबीच भएको सहमति अनुसार गृह मन्त्रालय रास्वपाले नै पाउँछ,’ उनले भने, ’गृह मन्त्रालय नदिँदा विवाद हुनु स्वाभाविक हो ।’

Related News