भदौ १८, काठमाडौँ | कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले असंवैधानिकरूपमा लिएको विश्वासको मतविरुद्धको सुनुवाइ हेर्दा हेर्दैमा परेको छ ।

सपना मल्ल प्रधान, कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा भएको आजको सुनुवाइको क्रममा उक्त रिटको सुनुवाइ हेर्दा हेर्दैमा परेको हो । अब मुद्दाको सुनुवाइ भोलि हुनेछ ।

हिजो सपना मल्ल प्रधान र शुष्मलता माथेमाको इजलासले सो मुद्दा पूर्ण इजलासमा लैजाने आदेश भएको थियो ।

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले भदौ ४ मा प्रदेशसभाबाट लिएको विश्वासको मत असंवैधानिक भएको भन्दै एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले भदौ ६ गते सर्वोच्चमा रिट दायर गरेका थिए।

रिट निवेदनको सुनुवाइका लागि आइतबारको इजलासमा विपक्षीहरूका तर्फबाट सुरुमा संवैधानिक इजलासको माग भएकामा न्यायाधीशद्वय मल्ल र माथेमाले पूर्ण इजलासमा निरन्तर सुनुवाइबाट टुंग्याउने गरी आदेश दिएका थिए ।

न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको संयुक्त इजलासमा शुक्रवार सुनुवाइ तोकिएकामा न्यायाधीश खतिवडाले उक्त रिटमा आफैँले कारण देखाऊ आदेश दिएका कारण पूर्ण सुनुवाइमा बस्न नमिल्ने बताएपछि आइतबार ‘हेर्न नमिल्ने’ मा राखिएको थियो।

भदौ ७ को प्रारम्भिक सुनुवाइमा न्यायाधीश खतिवडाको एकल इजलासले सभाध्यक्षको मत प्रयोग गरेर विश्वासको मत लिएकोलाई संविधानसम्मत् नभएको ठहर गरेको थियो ।