सामाजिक सञ्जालमार्फत गालीगलौज र घृणा फैलाएको आरोपमा एक जना पक्राउ

साझासवाल
1 Min Read

काठमाडौँ । अमेरिकामा सामाजिक सञ्जालमार्फत गालीगलौज र घृणा फैलाएको आरोपमा मिन गुरुङ पक्राउ परेका छन् ।

अमेरिकामा बसोबास गर्दै आएका नेपाली मूलका मिन गुरुङ सामाजिक सञ्जालमार्फत घृणा फैलाउने, धम्की दिने, र मानहानी गर्ने कार्यमा संलग्न भएको आरोपमा मे २१ मा अमेरिकी आप्रवासन तथा भन्सार प्रवर्तन निकाय (ICE) द्वारा पक्राउ परेका छन्।

हाल गुरुङ पश्चिम भर्जिनियाको हन्टिङ्टनस्थित हिरासत केन्द्रमा रहेका छन्। उनी टिकटकलगायत विभिन्न सामाजिक सञ्जाल प्लेटफर्महरूमा लामो समयदेखि सक्रिय थिए।

गुरुङले आफ्ना भिडियोहरूमा नेपाली र भुटानी समुदायप्रति लक्षित गर्दै आपत्तिजनक शब्दहरू प्रयोग गरेको, गालीगलौज तथा धम्कीपूर्ण अभिव्यक्ति दिएको आरोप लागेको छ। यस प्रकारका सामग्रीले सामाजिक सद्भावमा नकारात्मक असर पारिरहेको भन्दै दुवै समुदायका व्यक्तिहरूले विरोध जनाएका थिए।

उनीविरुद्ध आप्रवासन अदालतमा मुद्दा अघि बढाउने, प्रक्रिया हाल प्रारम्भिक चरणमा रहेको बताइएको छ। यसबीच, टिकटकमा गुरुङको गिरफ्तारीसम्बन्धी समाचार फैलिएपछि धेरै प्रयोगकर्ताहरूले यस विषयमा आ–आफ्ना धारणा सार्वजनिक गरिरहेका छन्।

Share This Article