नवीन नेपाली । फागुन २४, नारायणपुर । घोराहीकी पुनम नेपाली तुलसीपुर चौकमा जुत्ता सिलाउँछिन् । छ वर्षीय छोराकी आमा पुनमले जुत्ता सिलाउन थालेको ४÷५ वर्ष भैसकेको छ । उनी २९ वर्षकी हुन् र श्रीमान्को मृत्युपछि छोरोको पालनपोषण र शिक्षादीक्षा उनको काँधमा आइप¥यो ।

श्रीमान्सँग काम गर्दागर्दै जुत्ता सिलाउन सिकेकी पुनमले श्रीमान्को मृत्युपछि तुलसीपुर चौकमा ढेब्ली पसलमा बसेर ग्राहकहरुको सेवा गर्दैआएकी छन् ।

उनले दैनिक ३÷४ सयदेखि दुईहजार ५०० रुपैयाँसम्म कमाउँछिन् । यसबाट घरबार चलाउनेदेखि छोरोलाई बोर्डिङ पढाउन सहज भएको छ । “पहिले पहिले त अलि अफ्ठेरो लाग्थ्यो, कसैले केही भन्छन् कि भन्ने पनि सोच्थेँ,” जुत्ता सिलाउँदै उनले भनिन् – “तर अब त कामै त हो, जे गरे पनि के आम्दानी गर्ने त हो भन्ने लाग्छ ।” उनलाई पसलमा आउने जाने मान्छेहरुले अस्वाभाविक रुपमा हेर्ने त भएन नै । पसलमा बसेर जुत्ता सिलाउने महिलाहरु जिल्लामा कमै छन् ।

यस्तै घोराही उपमहानगरपालिका–४ गोग्लीकी कमला श्रेष्ठले साइकल मेकानिक भएर काम गर्न थालेको छ वर्ष भन्दा बढी भयो । उनले पनि श्रीमान्लाई सघाउँदै गर्दा साइकल बनाउने काम सिकेकी हुन् । गोग्लीचौकमा साइकल मर्मत पसल खोलेर काम गर्दैआएकी कमलाले दैनिक ३÷४ हजार रुपैयाँसम्म आम्दानी गर्दै आएकी छन् ।

कमलालाई आफ्नै पसलले स्वरोजगार बनाएको छ । पुरुषले गर्दै आएका कामहरु महिलाहरुले पनि गर्न सक्छन् भन्ने देखाएको भन्दै उनलाई विभिन्न सङघसंस्थाहरुले सम्मान तथा पुरस्कृत समेत गरेका छन् ।

कमलाको जस्तै अस्वाभाविक कथा छ कमला चौधरीको पनि । देउखुरीनर्तिको चौधरी लमही बजारमा मोटरसाइकल, स्कूटर मर्मत केन्द्र सञ्चालन गर्दैआएकी छन् । महिलाहरु पछिल्लो समय कटाइ सिलाइ, ब्युटिपार्लर लगायतका शीपहरु सिक्न इच्छुक छन् तर, उनले भने काठमाडौँ पुगेर मोटरसाइकल मर्मतसम्बन्धी तालीम सिकेर लमही बजारमा काम गर्दैआएकी छन् ।

“धेरैले राम्रो काम सिक्नु भएको छ भनेर हौसला दिएका छन्,” चौधरीले भनिन् – “पहिले त आफैलाई पनि अफ्ठेरो महशुस भएको थियो तर, अहिले सबैको हौसलाका कारण खुशी लाग्छ, मैले राम्रै काम गरेको रहेछु भन्ने लाग्छ ।”

घोराही उपमहानगरपालिका १८ मसिनाकी पार्वती विकको जीवनमा पनि अचनाक परिवर्तन आयो । पाँच महिना पहिलेसम्म उनको जीवन सामान्य थियो । श्रीमान् वैदेशिक रोजगारको लागि भारतमा छन् । सन्तानको शिक्षा र घरबार सम्हालेर बसेकी पार्वती अहिले पुजारी बनेकी छन् ।

जीवनको यो समयमा उनमा पुजारी बन्छु भन्ने न कुनै सोच थियो न पूर्वाभाष नै । उनकै कारण आफ्नै घर अगाडि नै नागेश्वर मन्दिर स्थापना गरिएको छ । पकाउने खाने, बच्चाबच्ची हेर्ने, मेलापर्म गर्ने पार्वती अहिले पहेलो वस्त्र धारण गरेर दैनिक भक्तजनलाई आर्शिबाद दिने गर्छिन् । दलित समुदायका पार्वती मन्दिरको पुजारी भएपछि हिन्दू धर्मले जातीय विभेद गर्छ भन्ने मान्यता हटेर गएको स्थानीय बासिन्दाहरु समेत बताउँछन् ।

त्यसैगरी, महिलाले चालक काम गर्नुहुँदैन भन्ने यहाँको परम्परालाई तोड्दै दङ्गाली महिलाले धमाधम ई–रिक्सा किनेर चलाउने गरेका छन् । अहिले जिल्लामा मात्र दुई दर्जन महिलाले ई–रिक्सा किनेर चलाउँदै आएका छन् । अहिलेसम्म सदरमुकाम घोराहीमा ६ जना महिला ई–रिक्साचालक भएका छन् भने तुलसीपरमा १३ जना छन् ।

जिल्लामा पहिलो पटक लक्ष्मी रानाले मात्रै ई–रिक्सा किनेर चलाएकी थिइन् । महिला इमान्दार र मेहनती भएकाले महिला चालक भएको रिक्सामा यात्रीहरु वढी वस्ने गरेको ई–रिक्सा महिलाचालकहरुको अनुभव छ ।

केही वर्ष पहिलेसम्म दाङका होटलहरुमा ‘वेटर’को काम गर्न समेत महिला तथायुवतीहरु हिचकिचाउँथे । तर, अहिले दाङका होटलहरुमा समेत पढेलेखेका युवतीहरु ‘वेटर’को रुपमा कार्यरत छन् । घोराहीको माला–इन्, होटल डोको, आइपार्क लगायतका होटलहरुमा युवतीहरुले ‘वेटर’ बनेर काम गर्दैआएका छन् ।

केही समय पहिलेसम्म घरमै बसेर घरकै काम मात्र गर्नुपर्छ भन्ने मान्यता अब तोडिँदै छ । बढ्दो विकास र सूचना प्रविधिहरुको पहुँचका कारण पछिल्लो समय मानिसहरु चेतनशील बन्दै जानथालेका छन् भने महिलाहरुमा आत्मविश्वास बढेको महिला मानवअधिकारकर्मी हुमा डिसीले बताइन् ।

चुलौचौकोमा सीमित हुनुपर्छ भन्ने मान्यता तोड्दै अब महिलाहरुले पनि पुरुषले गर्दै आएका कामहरु गर्न थालेको डिसीले बताइन् । महिलाअधिकारको क्षेत्रमा काम गदै आएका सङ्घसंस्थाहरुले सम्पत्ति तथा आम्दानीमाथि महिलाहरुको हक नहुँदासम्म अधिकार प्राप्त नहुने बताउँदै आएका छन् । पछिल्लो समय त्यही अधिकार प्राप्तिका लागि धेरै महिलाले आम्दानीको स्रोत पहिचान गर्दै पुरुषले गर्दै आएका कामहरु पनि गर्न थालेका छन् ।