माघ ११, (रासस/सिन्ह्वा) । टर्कीमा आएको शक्तिशाली भूकम्पमा परी कम्तीमा १८ जनाको मृत्यु भएको छ ।

शुक्रबार आएको ६.८ म्याग्नीच्युडको भूकम्पका कारण अरु ५ सय भन्दा बढी घाइते भएका अधिकारीहरुले जनाएका छन् ।

टर्कीको राजधानी अङकारादेखि पूर्वी क्षेत्रमा पर्ने एलाजिग प्रान्तमा स्थानीय समयानुसार शुक्रबार बेलुका ८.५५ मा भूकम्प आएको हो ।

स्वास्थ्य मन्त्री फहरेटिन कोकाले मृत्यु भएका मध्ये १३ जनाको एलाजिग प्रान्तमा र अरु पाँच जनाको छिमेकी मालात्य प्रान्तमा मृत्यु भएकोे जानकारी दिनुभयो ।

त्यसैगरी गृह मन्त्री सुलेमन सोयलुले पनि घटनामा परी ५०० जनाभन्दा बढी घाइते भएको पुष्टि गर्नुभयो ।

उहाँले घटनास्थलहरुमा खोजी तथा उद्धारकार्य भइरहेको र तीस जना भत्किएको घर भित्र पुरिएको पनि जानकारी दिनुभयो ।

प्रत्यक्षदर्शीहरुका अनुसार कम्तीमा १० देखि १२ सेकेण्डसम्म कम्पन भएको थियो । त्यो निकै शाक्तिशाली थियो ।

“हामीलाई यो रात निकै गाह्रो भयो,” एक भूकम्प पिडितले भने । उनीहरुका अनुसार त्यतिबेला तापक्रम माईनस पाँच डिग्री सेल्सियस पुगेको थियो ।

भूकम्पपछि दर्जनौ पटक पराकम्प पनि आएको बताइएको छ । भूकम्पको प्रभाव चार ओटा प्रान्तमा परेको विवरणहरु आएको अधिकारीहरुले जनाएका छन् ।

Related News