असार ३१, काठमाडौं । निजी विद्यालय सञ्चालकहरूले साउन १ गतेदेखि देशैभर अनलाइन कक्षा रोक्ने भएका छन्।
बुधबार नेशनल प्याब्सन अध्यक्ष ऋतुराज सापकोटा र प्याब्सन अध्यक्ष टिकाराम पुरीले संयुक्त रूपमा प्रेस विज्ञप्ति निकालेर अनलाइन र दूर शिक्षा रोक्ने बताएका हुन्।
उनीहरूले असार १ गतेदेखि उनीहरूले वैकल्पिक विधिबाट पठनपाठन सुरू गरेका थिए। अनलाइन कक्षा बन्द गर्दै शिक्षकलाई बेतलबी घर बिदामा राख्ने उल्लेख गरेका छन्।
आर्थिक समस्याका कारणले शिक्षण सिकाइ क्रियाकलापलाई निरन्तरता दिन नसकेको उनीहरूको भनाइ छ।
असार २१ गते शिक्षा मन्त्रालयले गरेको सहमतिअनुसार ठोस निकास दिन नसकेको पनि उनीहरूको भनाइ छ।
उनीहरूले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आर्थिक तथा व्यवसायिक संकट आइपरेकोले विद्यालय बन्द गरी बस्नु नै उचित विकल्प हो,’ ‘साउन १ गतेदेखि सवै वैकल्पिक शिक्षण सिकाइ क्रियाकलापहरु स्थगित गरी आफ्ना शिक्षक र कर्मचारीलाई बेतलवी घर बिदा दिने अप्रिय निर्णय लिन बाध्य छौं।’
अभिभावकसँग शुल्क उठाउन पाउनु पर्नेलगायतका आफूहरुको माग सम्बोधन नगरेकोले यस्तो अप्रिय निर्णय लिन बाध्य भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।


