भदौ १७, सुर्खेत | नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू चितवनबाटै चुनाव लड्ने बताएका छन् ।

नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेशमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न शुक्रवार सुर्खेत पुगेका अध्यक्ष दाहालले यस्तो बताएका हुन् ।

नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापासँग प्रतिस्पर्धा हुने हो भन्ने पत्रकारको प्रश्नमा उनले तुलना नहुने कुरा नसोध्न आग्रह गरे । उनले भने, ‘चुनाव म चितवनको क्षेत्र नम्बर ३ बाट लड्दैछु । तुलना नहुने कुरा पत्रकार साथीहरूले नसोध्दा राम्रो ।’

सिट बाँडफाँटको विषयलाई लिएर गठबन्धनभित्र कुनै असहमति नरहेको दाबी उनले गरे । उनले गठबन्धनमा सिट संख्या लगभग टुंगिसकेको र एकैपटक प्रदेश र क्षेत्र पनि टुंग्याउने गरी काम शुरू भएकाले समय लागेको बताए ।

उनले शनिवार बस्ने गठबन्धनको बैठकबाट प्रदेश र संघको निर्वाचनमा क्षेत्र पनि तोक्ने बताए । अध्यक्ष दाहालले गठबन्धनलाई अझ प्रभावकारी कसरी बनाउने भन्नेतिर छलफल केन्द्रित रहेको बताए ।

उनले प्रदेश र संघको निर्वाचनमा गठबन्धनका सबै दलको सन्तुलन मिलाउने गरी छलफल भइरहेको बताए ।