साउन ९, अफगानिस्तान । अफगानिस्तानको दक्षिणी क्षेत्रमा पर्ने एउटा गाँउबाट ७० जना व्यक्ति शुक्रबार अपहरणमा परेका छन् ।

प्रहरीले उनीहरूलाई तालिवान लडाकूहरूले अपहरण गरेको आरोप लगाएको छ भने अन्य कम्तीमा सात जना मारिएको पनि जनाएको छ । अपहरणमा परेकामध्ये तीस जनालाई छाडिदिएको भए पनि अरू कम्तीमा तीस जना अझै पनि बेपत्ता रहेको कान्दाहार प्रान्तका प्रहरी प्रमुख अब्दुल राजिकले एएफपीलाई जानकारी दिनुभयो ।

“तालिवान लडाकूहरूले ७० जना गाउँलेलाई उनीहरूकै घरबाट शुक्रबार अपहरण गरेका थिए, उनीहरू कान्दाहारदेखि तारिन्कोट राजमार्गमा पर्ने गाउँका बासिन्दा हुन्,” उहाँले थप्नुभयो, “उनीहरूमध्ये सात जनाको शव गाँउमै बिहानको समयमा भेटिएको छ ।”

अपहरितहरूको गाउँ तालिवान लडाकूहरूको प्रभाव बढी भएको क्षेत्र मानिन्छ । दक्षिण अफगानिस्तानको सबैभन्दा ठुलो शहरको रूपमा रहेको तारिन्कोट गरुज्गान प्रान्तको राजधानी पनि हो ।

तालिवान लडाकूहरूले गाउँलेहरूलाई अपहरण गर्नुको कारणका बारेमा अहिलेसम्म पनि केही एकिन हुन सकेको छैन । सरकारी अधिकारी र सुरक्षाकर्मीहरूले अपहरितहरूको खोजी गरी उद्धार गर्ने प्रयास भइरहेको जनाएका छन् । – रासस