दार्चुला प्रदेश नम्बर ७ को ८ औं खुला दिसामुक्त जिल्ला, मुख्यमन्त्री भट्टले गरे घोषणा

Posted on: 08 May, 2018

लोकेन्द्र प्रशाद जोशी | बैशाख २५, दार्चुला । दार्चुला देशकै ५२ औ तथा प्रदेश नम्बर ७ को आठौं जिल्लाको रुपमा मंगलबार खुला दिसामुक्त जिल्ला घोषणा गरीएको छ ।

दार्चुला जिल्लाको पहिचान, अग्रगामी सरसफाई अभियान भन्ने उद्घोषका साथ दार्चुलालाई सात नम्बर प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले भब्य समारोहका बिच खुला दिसामुक्त घोषणा गरेका हुन । खुला दिसामुक्त क्षेत्र घोषणा गर्न आवश्यक सबै पूर्वाधार र सूचकांक पुगेकाले जिल्लालाई क्षेत्रीय खानेपानी तथा सरसफाइ समन्वय समितिको निर्णयअनुसार खुला दिसामुक्त क्षेत्र घोषणा गरिएको हो ।

 

घोषणा सभामा बोल्दै मुख्यमन्त्री भट्टले खुला दिशामुक्त घोषणामात्र हैन, स्वच्छ वातावरण राख्न पहल गर्नुपर्ने बताउँनुभयो । हामीले खुलादिशामुक्त घोषणा गर्दैमा केहि हुँदैन, मुख्यमन्त्री भट्टले भन्नुभयो, हामीले टोल टोलबाट वातावरण सुधार गर्दै लैजानुपर्छ । मान्छेलाई स्वच्छ राख्नको लागि सरसफाई अनिवार्य चाहिन्छ । उहाँले जिल्लाको निरन्तर सरसफाइको विकास गर्नको लागि सबै नागरिक सक्रिय हुनुपर्नेमा जोड दिनुभयो ।

दार्चुलामा ०६७।०६८ सालदेखि खुला दिशामुक्त अभियान सञ्चालन भएको हो । जिल्लालाइ खुला दिशामुक्त घोषणा गर्न झण्डै ९ वर्ष लाग्यो । २६ हजार २६ घरधुरी रहेको दार्चुलामा २५ हजार ८ सय ४४ घरधुरीमा शौचालय निर्माण गरिएको खानेपानी तथा सरसफाई सव डिभिजन प्रमुख प्रकाश बहादुर रावलले बताउनुभयो । यसैगरी जिल्लाका १ सय ८२ घरधुरीमा संयुक्त शौचालय तथा ९ वटा सार्वजनिक शौचालय र ३९ वटा पानी घट्ट सँगै शौचालय निर्माण गरिएका छन् । जिल्लालाई खुलादिशामुक्त घोषणाको लागि तत्कालीन स्थानीय निकायबाहेकका सरकारी तथा गैरसरकारी क्षेत्रबाट १२ करोड ४१ लाख १८ हजार छहत्तर रुपैयाँ खर्चभएको जिल्ला खानेपानी तथा सरसफाई तथा स्वच्छता समन्वय समितिले जनाएको छ । कार्यक्रममा उपस्थित सबैले सन्तती र इष्टकुल देबताको नाममा कहील्लै चर्पी बाहिर दिशा नगर्ने प्रतिबद्धता एबं सपथ समेत लिएका छन । 


जिल्ला समन्वय समिति प्रमुख करबिर बहादुर कार्कीको अध्यक्षतामा सञ्चालीत खुल्लादिशामुक्त घोषणा कार्यक्रममा मुख्यमन्त्री त्रिलोचन भट्ट, भौतिक योजना तथा पुर्बाधार मन्त्री पठान सिह बोहरा, दार्चुला जिल्लाबाट प्रतिनिधित्व गर्नुहुने प्रदेशसभा सदस्य द्धय गेल्बुसिह बोहरा र मान बहादुर धामी, जिल्लास्थित स्थानिय तहका प्रमुख, उपप्रमुख, जनप्रतिनिधि, कार्यालय प्रमुख, सुरक्षाकर्मी, सञ्चारकर्मी लगायत आम सर्बसाधारण सयौ जिल्लाबासिको उपस्थिति रहेको थियो । 

कार्यक्रममा राष्ट्यि कलाकार सुरेश शाही, पुष्पा बोहरा, गौरी भट्ट, दीपा रोकाया र रेखा जोशी लगायतले प्रस्तुती राखेका थिए । यसको साथै कार्यक्रममा स्थानीय संस्कृति झल्कने गरी झाकी तथा र्याली, प्रदर्शनी, व्यासी सौका समाजको झाकी, दुहुको सरौ नाँच, लेकमको छलिया, हुड्कयौली नाँच प्रस्तुती गरीएको थियो । कार्यक्रममा शुभकामना मन्तब्य र बिभिन्न सास्कृतिक प्रस्तुतीहरु राख्ने सबैले सरसफाइमा ध्यान दिन, नियमित चर्पीको प्रयोग गर्न र चर्पीबाहिर कहिल्लै दिशापिसाब नगर्न आग्रह गरेका छन ।  


यस बिषयमा तपाइको प्रतिक्रिया...!