दार्चुलामा आलुले स्थानीय बजार पाएपछि किसान खुशी

Posted on: 04 Feb, 2021

माघ २२, दार्चुला । गत वर्ष बन्दाबन्दीका कारण व्याँसको राप्ला, सुनसेरा, नौगाडको खार, महाकालीको सेलाकाटै, अपिहिमालको घुसा खण्डेश्वरीबाट आलुको व्यापार सदरमुकाम खलङ्गा र खलङ्गा बाहिरसमेत भयो । यहाँको आलुले बजार पाएको यो पहिलोपटक हो । आलुले बजार पाउन थालेपछि किसान निकै खुशी भएका छन् । बन्दाबन्दीले बाहिरबाट आलु ल्याउन नसकिरहेको बेला स्थानीय उत्पादनले बजार पाएपछि किसान आलुखेतीमा लागेका छन् । उपयुक्त मौसम तथा आलुखेती गर्ने जमिनको क्षेत्रफलमा वृद्धि भएकाले आलु उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्र दार्चुलाले जनाएको छ ।्

आलु नगदेबाली भएको कारण उत्पादनअनुसारको प्रतिफल मिल्ने भएपछि किसानले आलुखेती लगाउन थालेका छन् । विगतमा आलु बिक्री गर्ने बजार नहुँदा समस्या भोगेका किसान अहिले भने आलुखेतीमा व्यस्त छन् । दार्चुलामा गत आवमा जिल्लामा वर्षेतर्फ ३५३ हेक्टर क्षेत्रफलमा आलुखेती गरिएको थियो भने चार हजार ६९४ दशमलव नौ मेट्रिक टन आलु उत्पादन भएको कृषि ज्ञान केन्द्र दार्चुलाले जनाएको छ । हिउँदेतर्फ जिल्लाभरि ३०२ हेक्टर क्षेत्रफलमा आलुखेती गरिएको जनाइएको छ भने तीन हजार ९२६ मेट्रिक टन आलु उत्पादन भएको कृषि ज्ञान केन्द्र दार्चुलाका कार्यालय प्रमुख प्रकाश पन्तले बताउनुभयो ।

कृषि कार्यालयका अनुसार चालू आवमा वर्षेतर्फ ३५५ हेक्टर क्षेत्रफलमा आलुखेती गरिएको छ । जसमा चार हजार ७२१ मेट्रिक टन आलु उत्पादन भएको पन्तले जनाउनुभयो । किसानलाई जिल्लाको शैल्यशिखर नगरपालिकाको वडा नं ६ अन्तर्गतपर्ने ग्वानी क्षेत्रमा चक्लाबन्दीमा आलु ५० प्रतिशत अनुदानमा ५० क्विन्टल आलुको बीउ वितरण गरिएको छ । हिउँदेतर्फ ३०५ हेक्टर क्षेत्रफलमा आलुखेती गरिएको छ ।

पछिल्लो समय प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत दार्चुलालाई आलु उत्पादनको सुपर जोन क्षेत्र घोषणा गर्ने योजना अघि सारेपछि जिल्लाका नौवटै स्थानीय तहका किसान यतिबेला उत्साहित  भएका छन् । ज्ञान केन्द्रका अनुसार गत वर्षको वर्षे आलुखेतीभन्दा यो आवको वर्षे आलु उत्पादनमा २६ दशमलव छ मेट्रिक टन आलु उत्पादनमा वृद्धि भएको छ । आलुखेतीबाट पर्याप्त आम्दानी हुन थालेपछि केही वर्षदेखि आलुखेतीतर्फ किसानको आकर्षण बढ्दै गएको कार्यालय प्रमुख पन्तले जानकारी दिनुभयो ।

आलुखेतीतर्फ किसानको आकर्षण बढाउन कृषि ज्ञान केन्द्रले विभिन्न कार्यक्रमअन्तर्गत अनुदानमा आलुको बीउ वितरणका साथै प्राविधिक सहयोग गर्दै आएको छ भने स्थानीय तहहरुले आलु उत्पादनमा जोड दिएका छन् । व्यासका कृषि प्राविधिक विश्वेश्वरप्रसाद बडुले भने हामीले हरेक वर्ष आलु पकेट क्षेत्र बनाएर कृषकलाई अनुदान सहयोग गरेको र अहिले व्यासमा आलु उत्पादनमा वृद्धि हुँदै गएको बताउनुभयो ।

वर्षेतर्फ जिल्लाको अपिहिमाल, व्याँस, नौगाड तथा मार्मा गाउँपालिका आलु उत्पादनका लागि राम्रो क्षेत्र मानिएको छ भने हिउँदेतर्फ जिल्लाको शैल्यशिखर नगरपालिका, मालिकार्जुन गाउँपालिका तथा लेकम गाउँपालिकामा आलु उत्पादनमा राम्रो मानिन्छ । हिउँदे बाली लगाउँदा जङ्गली जनावरले नष्ट गर्ने हुँदा पछिल्लो समयमा कृषक आलु र तरकारीखेतीतर्फ आकर्षित भएका हुन् । जिल्लाको शैल्यशिखर नगरपालिका–६  मिलमिलीका कृषकले अन्य बाली लगाउन छाडेर आलुखेतीतर्फ लागेका छन् ।

गहुँबाली लगाउने करिब ३ रोपनीमा आलुखेती गरेको मिलमिलीका स्थानीय कमलसिह धामीले जानकारी दिनुभयो । अहिले आलुको बजार पनि पाइन थालेपछि किसान खुशी छन् । नौगाड गाउँपालिका–२ का धनसिंह सितोलीले हरेक वर्ष आलुखेती बढाउँदै लगेका छन् । सडक सञ्जालले छोएको खार क्षेत्रमा आलु उत्पादन पनि राम्रो हुने र बजार पनि पाइन थालेपछि आलु उत्पादन बढेको हो । आलु उत्पादन बढाउन गाउँपालिका, प्रदेश सरकार सङ्घीय सरकार र कृषि कार्यालयबाट अनुदान तथा प्राविधिक सहयोग पाइने भएपछि आलुखेती बढाइएको छ । बन्दाबन्दीको समयमा दार्चुलाको स्थानीय आलु प्रतिकिलो रु ५० देखि ७० मा बिक्री भएको थियो ।रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!