मङ्सिर ११, इनरुवा । इनरुवा नगरपालिकाले समयमा काम नगर्ने ठेकेदारलाई नै पटकपटक ठेक्का दिएको स्थानीयले गुनासो गरेका छन् ।

इनरुवा–१ को मुख्य बजार क्षेत्रमा रहेको भवन निर्माण ठेक्का लिएको अढाइ वर्ष बित्दा पनि निर्माण कार्य सम्पन्न नगरेको र अस्पताल अगाडिको भवन समेत निर्माण नगरेको ठेकेदारलाई फेरि नगरपालिकाले नयाँ योजना दिएकाले नगरबासी आक्रोशित बनेका हुन् ।

नगरपालिकाले समयमा काम सम्पन्न नगर्ने ठेक्केदार तथा कम्पनीलाई कारबाही गर्नुपर्नेमा उल्टै अर्को योजना दिएर काम नगर्नेलाई प्रोत्साहन गरेको नगरबासीको आरोप छ । ठेकेदार सन्तकुमार मेहताले सञ्चालन गरेको निर्माण सेवाले रु २८ लाख लागतमा निर्माण गर्ने भनिएको इनरुवा नगरपालिकाको भवनको निर्माण एक वर्षभित्र सम्पन्न गर्नुपर्नेमा अढाई वर्ष बित्दा पनि काम सम्पन्न नगरेको पाइएको छ ।

काम समयमा सम्पन्न नगर्दा नगरपालिकालाई उक्त भवन सटरबाट मासिक रुपमा रु दुई लाख ५० हजार घाटा भइरहेको स्थानीयको भनाइ छ । भवनको समयमा डिजाइन नमिलेको, झ्याल ढोका, सिसा, ग्रील नलगाएका काराण भाडा लगाउन नपाउँदा रु ३० लाखभन्दा बढी रकम नगरपालिकालाई घाटा भएको स्रोतको दाबी छ । नगरपालिकाले काम समापन गर्न मङ्सिर मसान्तसम्मको समय दिएको इनरुवा नगरपालिकाका एक कर्मचारीले बताउनुभयो । रासस

Related News