कुपण्डोलस्थित ‘एयर किङ्ग्स प्लेसमेमन्ट प्रा. लि.’ मा वैदेशिक रोजगार विभागको छापा

Posted on: 12 Aug, 2024

साउन २८, काठमाडौँ । ललितपुरको कुपण्डोलस्थित ‘एयर किङ्ग्स प्लेसमेमन्ट प्रा. लि.’ मा वैदेशिक रोजगार विभागले छापा मारेको छ । उक्त मेनपावर कम्पनीले नियम विपरीत संयुक्त अरब इमिरेट्सको दुबईमा कामदार पठाउन अन्तरवार्ता लिइरहेको उजुरीको आधारमा शुक्रबार नै विभागले छापा मारेको हो । 

दुबईको ‘स्पार्क सेक्युरिटी गार्ड’का लागि कामदारको माग भएको भन्दै कम्पनीले ललितपुरसहित देशका विभिन्न स्थानमा रहेका शाखा कार्यालयबाट धमाधम युवाहरु जम्मा गरेर ५ देखि ६ लाख रुपैयाँसम्म माग गरेको खुल्न आएको विभागका एक अधिकारीले जानकारी दिए । ती अधिकारीका अनुसार यसबारे मेनपावरको सम्पर्कमा आएका युवाहरूले विभागमा दिएको उजुरीका आधारमा छापा मारिएको हो । 

छापा मारेर विभागको टोलीले कागजात, केही थान पासपोर्ट र कम्युटरसमेत नियन्त्रणमा लिएर गएको छ । मेनपावरले २ सय जनाका लागि डिमाण्ड आएको भनेपनि त्यसको नेपाली दूतावास र कुनै पनि निकायबाट प्रमाणीकरण नगराएको देखिएको विभागका ती अधिकारीको भनाइ छ । तर, युवाहरूबाट मेनपावरले ६ लाखसम्म लाग्ने भन्दै सुरुमा २ लाख रुपैयाँ जम्मा गराउन थालेपछि विभागमा उजुरी परेको थियो । 


विभागले छापा मारेसँगै तत्कालका लागि सो अन्तरवार्ता रोकिएको बताइएको छ । उसो त विभागले केही मेनपावरको पोखरा कार्यालयमा समेत छापा मारेको बताइएको छ । 

विभागका महानिर्देशक डण्डुराज घिमिरेले पोखरासँगै ललितपुरको कार्यालयमा छापा मारिएको पुष्टि गरे । विभागको टोलीले छापा मार्न जाँदा केही समय कर्मचारीलाई गेट बाहिरै राखिएको खुलेको छ । लक सिस्टमसहितको गेटका कारण विभागको टोली सहज रूपमा भित्र प्रवेश गर्न पाएको थिएन । त्यसपछि भित्र टोली प्रवेश गर्दा ४/५ जना मात्रै थिए । त्यो क्रममा मेनपावरका कर्मचारीहरू आवश्यक कागजात लुकाएको हुन सक्ने विभागको आशंका छ । जसका कारण विभागको टोलीले केही पासपोर्ट र केही सम्बन्धित कागजात मात्रै फेला परेको बताइएको छ । 

गत वर्ष बढी कामदारलाई वैदेशिक रोजगारीमा पठाउने मेनपावर रूपमा ‘एयर किङ्ग्स’ चिनिएको छ । उसले चार हजार १४ जनालाई वैदेशिक रोजगारीमा पठाएको विभागको तथ्यांकमा उल्लेख छ ।  ‘एयर किङ्ग्स’ का सञ्चालक जयराम अधिकारी हुन् । उनले शक्तिकेन्द्रमा आफ्नो मान्छे भएको भन्दै खुलेआम ठगी धन्दा चलाइरहेको त्यहीका कर्मचारीहरू बताउँछन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!