भारी वर्षाका कारण आन्तरिक उडानहरू प्रभावित, अन्तर्राष्ट्रिय उडान नियमित

Posted on: 27 Sep, 2024

असोज ११, काठमाडौँ । बंगालको खाडीमा उत्पन्न जलवाष्पयुक्त हावा र न्यून चापीय प्रणालीका कारण भएको खराब मौसमले देशका विभिन्न विमानस्थलहरूमा आन्तरिक उडानहरू प्रभावित भएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाका अनुसार, भारी वर्षाका कारण भद्रपुर, विराटनगर, सिमरा, भरतपुर, पोखरा, सुर्खेत लगायतका विमानस्थलमा शुक्रबारका लागि तय भएका नियमित उडानहरू रद्द गरिएका छन्। पर्यटकीय क्षेत्र सगरमाथा प्रवेश गर्ने लुक्लामा पनि उडानहरू रद्द भएका छन्।


बुद्ध एयरले मौसम प्रतिकूल भएकाले शुक्रबारका सबै पर्वतीय उडानहरू रद्द गरेको जानकारी दिएको छ। यद्यपि जनकपुर, नेपालगञ्ज, धनगढी जस्ता विमानस्थलमा केही उडानहरू भए पनि भारी वर्षाले ती स्थानका उडानहरू पनि प्रभावित भएका छन्।

काठमाडौं विमानस्थलको भिजिबिलिटी (दृश्यता) ३ किलोमिटर हाराहारीमा झरेको छ, भने हेरेर हुने उडानका लागि कम्तीमा ५ किलोमिटर दृश्यता आवश्यक पर्छ। प्रवक्ता शेर्पाका अनुसार, खराब मौसमले अन्तर्राष्ट्रिय उडानहरूमा भने कुनै असर परेको छैन। शुक्रबारका लागि ५६ वटा अन्तर्राष्ट्रिय उडानको तालिका रहेको छ।

आन्तरिक वायुसेवाको तर्फ शुक्रबार ३ सय वटा उडान गर्न ७ वटा वायुसेवाको तालिका तय गरिएको थियो। बिहान ६ बजेदेखि राति १० बजेसम्म आन्तरिक वायुसेवाहरूले नियमित उडान गर्नुपर्ने भए पनि खराब मौसमका कारण यी उडानहरू सुगम रुटमा मात्र सीमित भएका छन्।

यस बिषयमा तपाइको प्रतिक्रिया...!