भदौ १७, काठमाडौँ | मधेसी, जनजाति, खसआर्य क्लस्टर राख्ने कि नराख्ने, संगठनको स्वरूप कस्तो हुने भन्ने विषयमा मतभेद हुँदा नयाँ शक्तिको पछिल्ला बैठक प्रभावित भएका छन् ।

‘माओवादी पृष्ठभूमिबाट आएकाहरू पुरानै किसिमको संगठन संरचना चाहन्छन्, हामी प्रत्यक्ष लोकतन्त्रको अभ्यासबाट अघि बढ्ने बहसमा छौं,’ पार्टीका एक उच्च नेताले भने, ‘अहिले हाम्रो उहाँहरूसँग अन्तर्संघर्ष छ, पार्टीहरूका बीचमा अर्को एउटा पार्टी बनाएर अस्तित्वमात्रै देखाउने कि साँच्चैको वैकल्पिक पार्टी बनाउने ?’

युद्धकालीन माओवादीमा काम गरेर आउनेहरू भने पार्टी प्रवेशी पछिल्ला अनुहारहरूमा राजनीतिक चरित्र देखिन नसकेको भन्दै संयोजक बाबुराम भट्टराईसँग गुनासो गरिरहेका छन् । फिल्डमा दौडने बेला आफूहरू अघि सर्ने गरे पनि प्रचार बटुल्ने बेला उनीहरू छाउने गरेको पूर्वमाओवादीहरूको बुझाइ छ ।

एक साताअघि बबरमहलस्थित पार्टी मुख्यालयमा बसेको राजनीतिक समिति बैठकमा त्यसैको प्रतिबिम्ब देखियो । पार्टीका केही महत्त्वपूर्ण पद र विभागमा पदाधिकारी, सदस्य थप्न नेतृत्वले प्रयास गरे पनि को वरिष्ठ भन्ने खिचातानी सम्हाल्न नसक्दा समिति बैठक निष्कर्षमा पुग्न सकेन ।

त्यसपछि नयाँ शक्ति भनी मिडियामा छाउनेमा पूर्वकर्मचारी, सेलिब्रिटी, पत्रकार, उद्योगी, एनजीओकर्मी रहे पनि पार्टी संगठन निर्माणमा दौडनेमा उनै पूर्वमाओवादी बढी थिए । जेठमा पार्टी घोषणा सभादेखि छलफलसत्रसम्म तिनै नयाँ अनुहार हावी हुन पुगेको गुनासोमा माओवादी पृष्ठभूमिबाट आएकाहरू छन् । पूर्वमाओवादी र गैरमाओवादी भनी दुई तप्का बन्दै गएकोमा भट्टराईले अब बन्ने पार्टी बिलकुलै नयाँ चरित्रको बन्ने भएकाले आफ्नो पुरानो समूह अनुकूल भएन भनी नसोच्न भन्दै कार्यकर्ता थुमथुम्याउने गरेका छन् । – कान्तिपुर